काठमाडौं – भूकम्प र कोरोना महामारीको कारण देखाउँदै लामो समयदेखि चीनले उत्तरी नाकामा एकतर्फी रुपमा ‘अघोषित नाकाबन्दी’ कायमै राख्दा स्थानिय र व्यवसायीले सास्ती भोग्दै आउनुपरेको छ । अन्तर्राष्ट्रियस्तरका नाका केरुङ र तातोपानी मात्र हैन, अन्य उत्तरी नाकाहरु पनि चीनले केही वर्षयता एकतर्फी रुपमा ठप्प पार्दा त्यहाँको जनजीवन नै कष्टकर बनेको हो ।
हुम्ला, मुगु, गोरखाको लार्के, संखुवासभाको किमाथांका, ताप्लेजुुङको टिप्तालालगायत चीनसँग जोडिएका नाका केवल नाका मात्र नभई त्यहाँका स्थानीयको दैनन्दिन जीवनीसँग जोडिएका मार्ग पनि हुन् । तर, छिमेकी र मित्रराष्ट्र रुपमा आफूलाई चिनाउन खोज्ने चीनले यी नाकालाई सहज बनाउन उदासीन देखिँदा सीमा क्षेत्रका नागरिकलाई वर्षौंदेखि सास्ती खेप्दै आउनु परेको छ ।
नेपाल–चीन सिमाना ओलाङचुङगोला गाउँपालिकाको नाका (टिप्ताला भञ्ज्याङ) चार वर्षदेखि बन्द छ । यो नाका खुलाउन माग गर्दै गत साउनमा त्यहाँको गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको थियो । गाउँपालिका अध्यक्ष राजन लिम्बूले पत्र लेखेर प्रशासन कार्यालयलाई सहजीकरणका लागि अनुरोध गरेका थिए ।
नाका बन्द भएपछि स्थानीय आर्थिक संकटमा परी जीविकोपार्जनमा समस्या भएको, बस्ती स्थानान्तरणको स्थिति सिर्जना भएको, महँगी चरम रुपमा बढेको पत्रमा उल्लेख छ । विशेषगरी पशुपालन, जडीबुटी संकलन र गलैँचा उत्पादन मुख्य पेशाका रुपमा अँगालेका स्थानीयको नाका बन्द हुँदा सामान निर्यात ठप्प भएको छ ।
ताप्लेजुङ सदरमुकाम फुङलिङदेखि सामान बोकेर लैजाँदा ओलाङ्चुङगोला, घुन्सा, फले र याङ्मा पुग्न चार दिन लाग्ने गर्छ भने पालिकाको केन्द्र तापेथोकबाट सामान लैजाँदा तीन दिनमा पु¥याउन सकिन्छ । सदरमुकामबाट सामान खरिद गर्दा घरसम्म पु¥याउँदा लागत मूल्यभन्दा तीन गुणा बढी रकम तिर्नुपर्ने बाध्यता छ ।
नाका खुला हुँदा यस क्षेत्रका बासिन्दा एक दिनमा तिब्बतको रियू बजार किनमेल गरेर घर फर्किन सक्छन् । सडक सञ्जालबाट टाढै रहेको यस क्षेत्रका समुदायले स्वास्थ्य, शिक्षालगायतका समस्या भोग्दै आएका छन् । बिरामी पर्दा हेलिकोप्टर ‘चार्टर्ड’ गर्छन् भने आर्थिकस्तर कमजोर भएकाले तीन दिनको बाटो पैदल हिँडेर जिल्ला अस्पताल पुग्नुपर्ने बाध्यता छ । तर, समस्या भने हालसम्म ज्यूँकात्यूँ नै छ । मुस्ताङ, हुम्ला, मुगु, उत्तरी गोरखालगायत चीनसँग जोडिएका नाका क्षेत्रका बासिन्दाको समस्या पनि उस्तै छ ।
हाल उत्तरी क्षेत्रका रसुवाको केरुङ र सिन्धुुपालञ्चोकको तातोपानी नाका मात्र सञ्चालनमा छन् त्यो पनि आंशिक रुपमा। मान्छेको आवतजावत त चीनले हालसम्म पनि खुला गरेको छैन । चीनले एकतर्फी रुपमा नाकाबन्दी गर्दा करोडौं रुपैयाँ नोक्सानी भएको व्यवसायीले बताएका छन् । चीनबाट खरिद गरेका सामान सीमा क्षेत्रमै अलपत्र पर्ने गरेको र सड्नेगल्ने सामानदेखि लत्ताकपडा बिग्रिएर व्यवसायीले ठूलो नोक्सानी खेप्नुपरेको नेपाल हिमालय सीमापार वाणिज्य संघले जनाएको छ ।
व्यवसायीका अनुसार पछिल्लो समय उत्तरी नाकामा देखिएको समस्याका कारण चिनियाँ सामान पनि पानीजहाजबाट भारतको कोलकाता नाका हुँदै ल्याउने गरिएको छ ।













