पोखरा, १९ मंसिर । पोखराको नयाँबजार स्थित प्रदर्शनी केन्द्रका शुक्रबारदेखि जारी राष्ट्रिय औद्योगिक व्यापार मेलामा संचालित ‘रोटे पिङ’बाट खसेर चार जना घाइते भएका छन् । घाइते मध्ये एक युवतीको अवस्था गम्भीर छ ।
पोखरा उद्योग वाणिज्य संघद्धारा आयोजित राष्ट्रिय औद्योगिक व्यापार मेला स्थलको बाल उद्यानको ‘रोटे पिङ’ खेल्दा खसेर आइतबार साँझ चार जना घाइते भएका हुन् । पिङबाट खसेर मोरङ जिल्ला घरभई पोखराको नयाँ बजारमा बस्ने २२ वर्षीया अस्मिता लिम्बु गम्भीर घाइते भएको जानकारी जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक ज्ञान खड्काले दिए । टाउकोमा गम्भीर चोट लागेकी अस्मिताको नयाँबजार स्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइते अस्मिताको टाउकोमा गम्भीर चोट र हड्डी भाचिएको अस्पतालले जनाएको छ ।
एक जना बच्चासहित चार जना एउटै डब्बामा थिए । डब्बा कोल्टिएर पीङ बीचतिर आउँदा डब्बा खसेको प्रहरीको भनाई छ । एक जना पिङकै फलाममा समात्दा भुईंमा खसिन् । ६ वर्षीय बालिकासहित तीन जना भुईंमा बजारिएका थिए । घाइते अन्य तीन जनाको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।













