काठमाडौँ – बलिउडका चर्चित अभिनेता चंकी पाण्डेले नेपालको प्रमुख धार्मिक स्थल पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन्। हिन्दू धर्मको पवित्र महिनाको रूपमा मनाइने श्रावणको अवसर पारेर उनी नेपाल आएका हुन्।
चंकी पाण्डेले आइतबार बिहान पशुपतिनाथ मन्दिरको दर्शन गरेका हुन्। दर्शनपछि उनले आफ्नो आध्यात्मिक अनुभव सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै लेखेका छन् – “श्रावण मासमा पशुपतिनाथ मन्दिर के दर्शन पाकर धन्य हो गया।” उनले मन्दिर परिसरका केही तस्वीरहरू समेत सेयर गरेका छन्।
पशुपतिनाथ मन्दिर हिन्दू धर्मालम्बीहरूका लागि अत्यन्त पवित्र स्थल मानिन्छ। विशेषगरी श्रावण महिनामा हजारौं भक्तजन भगवान शिवको दर्शन गर्न नेपालका विभिन्न ठाउँदेखि साथै भारतबाट समेत काठमाडौँ पुग्ने गर्छन्।
चंकी पाण्डेले मन्दिर दर्शनका क्रममा धार्मिक विधि अनुसार पूजा गरेका थिए। उनले मन्दिरको शान्त वातावरण र आध्यात्मिक ऊर्जा आफूले अनुभव गरेको उल्लेख गरेका छन्।
बलिउडका थुप्रै कलाकारहरूले विगतमा पशुपतिनाथ मन्दिरको दर्शन गरिसकेका छन्। चंकी पाण्डेको यो यात्रा पनि धार्मिक आस्थाको प्रतीकका रूपमा हेरिएको छ।













