काठमाडौँ- अभिनेता सौगात मल्ल निर्देशक अनिल बुढा मगरको नयाँ निर्देशन ‘मितज्यू’ फिल्ममा मुख्य भूमिकामा अनुबन्धित भएका छन्।
निर्माण पक्षले उनलाई प्रमुख कलाकारका रूपमा प्रस्तुत गर्दै फिल्ममा दयाहाङ राईसँग पुनः सहकार्य गराउने तयारी गरेको छ।
यसअघि नै दयाहाङ राई, तेरिया मगर र स्मिता लामिछाने फिल्ममा अनुबन्धित भइसकेका थिए। सौगातको आगमनपछि दयाहाङ र सौगातको ‘पावरफुल’ जोडी पुनः स्क्रिनमा देखिने भएकोले दर्शकको उत्साह बढ्ने निर्माण पक्षको विश्वास छ।
फिल्मको निर्देशन अनिल बुढा मगरले गर्ने छन् भने निर्माण जनक घर्ती मगरले गर्नेछन्, जसले यसअघि ‘घरज्वाइँ’ जस्तो सुपरहिट फिल्म निर्माण गरेका थिए। यो निर्देशक मगर र निर्माता घर्ती मगरको दोस्रो सहकार्य हो।
फिल्मको कथा महेश राईले लेखेका हुन् भने सिनेमाटोग्राफीको जिम्मा शिशिर बिशङ्खेले लिनेछन्। ‘जिएम मुभिज प्रोडक्सन प्रा.लि.’को ब्यानरमा बन्न लागेको फिल्मको छायांकन मङ्सिर दोस्रो सातादेखि पोखरा र ढोरपाटन क्षेत्रमा सुरु हुने जानकारी निर्देशकले दिएका छन्।
निर्माण पक्षका अनुसार फिल्म सन् २०२५ को मार्च अन्त्य (चैत २७) मा सार्वजनिक प्रदर्शन गर्ने तयारी गरिएको छ। अन्य कलाकारहरूको छनोट कार्य पनि जारी रहेको छ।













