सिन्धुली। सिन्धुली र काभ्रेपलाञ्चोक प्रशासनले आज साउन १ गतेदेखि बीपी राजमार्गमा रातिको समयमा यात्रुबाहक सवारी सञ्चालनमा रोक लगाएको छ। नेपालथोकदेखि काभ्रेभञ्ज्याङसम्मको सडक खण्डमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन निषेध गरिएको हो।
मनसुन सक्रिय भएसँगै संभावित विपद् जोखिमलाई ध्यानमा राखी सुरक्षा समितिको बैठकले एक महिनाअघि नै रातिमा सवारी रोक्ने निर्णय गरेको थियो। यसअघि असार ७ गतेदेखि असार मसान्तसम्म पनि यातायात सञ्चालनमा रोक लगाइएको थियो।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक लालध्वज सुबेदीका अनुसार यात्रुबाहक सवारी मात्रै रोकिनेछन्, मालबाहक सवारी चल्न पाउनेछन्। यात्रुबाहक सवारीले साँझ ५ बजेसम्म खुर्कोटबाट पास भइसकेको हुनुपर्नेछ, त्यसपछि ती सवारी खुर्कोटमै रोकिनेछन्।
गत वर्षको बाढीपहिरोले आठ किलोमिटर सडकखण्डमा क्षति पुर्याएको र हाल अस्थायी रूपमा सडक सञ्चालन भइरहेको कारण जोखिम उच्च रहेको बताइएको छ। मनसुनजन्य अवरोध र सम्भावित उद्धार कठिनाइलाई मध्यनजर गर्दै रातिको सवारी रोकिएको हो।












