काठमाडौं । अब क्यान्सर, मुटु, मिर्गौला, टाउको र मेरुदण्डको चोट, सिकलसेल एनिमिया, पार्किन्सन र अल्जाइमर जस्ता आठ गम्भीर रोग लागेका बिरामीले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत २ लाख रुपैयाँसम्मको उपचार खर्च पाउनेछन्।
स्वास्थ्य मन्त्री प्रदीप पौडेलले साउन १ गतेदेखि लागू हुने यो निर्णयले पहिलेदेखि उपलब्ध एक लाख उपचार सहायता रकममा थप एक लाख रुपैयाँ थपिएको बताए। गम्भीर रोगले पिरोलिएका र उपचार खर्च जुटाउन नसकेका नागरिकलाई राहत दिने उद्देश्यले हामीले यो निर्णय गरेका हौं, मन्त्री पौडेलले स्पष्ट पारे। स्वास्थ्य मन्त्रालयले बीमा बोर्डलाई पत्राचार गरेपछि मंगलबार बसेको बोर्ड बैठकले यो निर्णय पास गरेको हो। कार्यकारी निर्देशक डा। रघुराज काफ्लेका अनुसार साउन १ बाट नयाँ योजना कार्यान्वयनमा आउँछ।
यससँगै स्वास्थ्य बीमाका सदस्यहरूले अब आफू बस्ने स्थानबाटै उपचार सेवा लिन सक्ने र सबै तहमा बीमा सुविधा उपभोग गर्न सक्ने व्यवस्था पनि भइसकेको छ। सरकारले हालै सार्वजनिक गरेको नीति तथा कार्यक्रम अनुसार, अब सबै सरकारी तथा संगठित क्षेत्रका कर्मचारीलाई अनिवार्य रुपमा स्वास्थ्य बीमामा आबद्ध गराइनेछ। साथै, विदेशमा रहेका कामदार र उनीहरूका परिवारलाई समेत बीमामा ल्याउन पहल भैरहेको छ।
बीमा कोषको आम्दानी बढाउन संघीय अस्पताल विकास समितिको आम्दानीको १ प्रतिशत कोषमा पठाउने र प्रगतिशील करमार्फत थप रकम संकलन गर्ने व्यवस्था पनि भएको छ। साथै, बीमा बोर्डको पुरानो बक्यौता पनि बजेटमार्फत शून्यमा झारिने छ। बीमा कार्यक्रम पारदर्शी बनाउन अनियमित भुक्तानी गर्ने अस्पतालहरूमाथि कारबाही भइरहेको छ भने प्रणालीमा सुधार गर्दै निगरानी बढाइएको बीमा बोर्डले जनाएको छ।
सरकारको यो निर्णयले स्वास्थ्य बीमा कार्यक्रममा थप नागरिक आबद्ध हुने र कार्यक्रम दीर्घकालीन रुपमा सशक्त हुने आशा गरिएको छ।













