काठमाडौं । आगामी कात्तिक १७ मा हुने रुपन्देही–३ को उपनिर्वाचनले राष्ट्रिय राजनीति तातिएको छ। पुराना शक्तिहरूको गढमा अबको चुनावले नयाँ मोड लिने संकेत देखिएको छ। सामाजिक सञ्जालमार्फत सक्रिय भएका स्वतन्त्र सोचका प्रतिनिधि सागर ढकालले यस चुनावलाई जनता भर्सेस राणा शासन को संघर्षको रूपमा चित्रण गरेका छन्। फेसबुक स्टाटसमा ढकालले “६२ हजार भोट ल्याएर इतिहास बनाउने” लक्ष्यसहित रुपन्देही–३ लाई परिवर्तनको केन्द्र बनाउने दाबी गरेका छन्।
ढकालले नेपाली राजनीतिका ठूला दलहरू — कांग्रेस, एमाले र माओवादी — एकै रूपमा चिनाउँदै ती दलहरूलाई पुरानो शासकीय शैलीको प्रतिक मानेका छन्। “तीन दलको घेरा तोड्न रुपन्देही–३ बाट अभियान सुरु गर्नुपर्छ,” ढकालको भनाइ छ। यद्यपि, ढकालले आफैं उम्मेदवार नबन्ने स्पष्ट पारिसकेका छन्। तर उनको सन्देशले स्वतन्त्र र नयाँ राजनीतिक विकल्पको बहस पुनः चर्किएको छ।
रुपन्देही–३ को इतिहास हेर्दा यहाँ शक्ति सन्तुलन निरन्तर फेरिंदै आएको छ। २०७४ मा एमाले–माओवादी गठबन्धनका घनश्याम भुसाल विजयी भए भने २०७९ मा राप्रपाका दीपक बोहरा एमालेको साथमा विजयी भए। बोहराको निधनपछि खाली भएको यस क्षेत्र अब धेरै दल र नेताहरूको महत्वाकांक्षाको केन्द्र बनेको छ।
वर्तमानमा नेपाली कांग्रेस, एमाले, माओवादी, रास्वपा, राप्रपा, नागरिक उन्मुक्ति पार्टी, जसपा, लोसपा लगायतका दलहरू उम्मेदवार छनोटमा व्यस्त छन्। विशेष गरी राप्रपाबाट दिवंगत सांसद दीपक बोहराको परिवारका सदस्यहरू चुनावी चर्चामा छन्। कांग्रेस, एमाले र माओवादीभित्र पनि बलिया आकांक्षीहरू मैदानमा छन्।
यसबीच नागरिक उन्मुक्ति पार्टीले भने उम्मेदवार चयनको जिम्मा संरक्षक रेशम चौधरीलाई दिइसकेको छ। यहाँबाट रेशम चौधरी वा धनिराम चौधरीको नाम अगाडि आउन सक्छ। २०७९ को निर्वाचन परिणाम अनुसार, कांग्रेसले २० हजार २७८, एमालेले १६ हजार ९८६, रास्वपाले १४ हजार १५४, राप्रपाले ९ हजार १८३ र नागरिक उन्मुक्ति पार्टीले ६ हजार मत पाएका थिए। यस्तो विविध र प्रतिस्पर्धात्मक मैदानमा रुपन्देही–३ को चुनाव केवल एउटा क्षेत्रको उपनिर्वाचन होइन, यो देशकै राजनीतिक दिशा बदल्ने सम्भावनाले भरिएको लडाइँ बन्ने देखिन्छ।