काठमाडौं । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीको सरुवा तथा पदस्थापनका लागि मापदण्ड तयार गरेको छ । कार्यविधिलाई उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले स्वीकृत गरेका छन् ।
कार्यविधिअनुसार प्रथम श्रेणीको प्रमुख जिल्ला अधिकारीका लागि मन्त्रालय, विभाग वा अन्तरगत कम्तीमा एक वर्ष काम गरेको हुनुपर्नेछ ।
द्धितीय श्रेणीको अधिकृतलाई खटाउनु पर्ने अवस्थामा उक्त श्रेणीको पदमा कम्तिमा पाँच वर्षको प्रशासनिक क्षेत्रको अनुभव हुनुपर्ने, कानुनमा स्नातक तह उत्तीर्ण वा कम्तिमा तीन महिनाको न्याय तथा कानुन सम्बन्धी तालिम गरेको हुनुपर्नेछ ।
दोस्रो श्रेणीको प्रमुख जिल्ला अधिकारीका लागि द्धितीय श्रेणीको प्रमुख जिल्ला अधिकारी वा इलाका प्रशासन कार्यालयको प्रमुख भई वा मन्त्रालय, विभाग वा अन्तरगत कम्तीमा एक वर्ष काम गरेको हुनु पर्ने, कानुनमा स्नातक वा तीन महिना कानुन सम्बन्धी तालिम गरेको हुनुपर्नेछ ।
सरुवा तथा पदस्थापनमा प्रमुख जिल्ला अधिकारीका लागि कसलाई प्राथमिकता दिने भन्ने पनि कार्यविधिमा उल्लेख छ ।













