प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले लागुऔषधको दुर्व्यसन र ओसारपसार नियन्त्रणका लागि सबै पक्षको सामूहिक प्रतिबद्धता र साझा प्रयास अत्यावश्यक रहेको बताएका छन् । लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै आईजीपी थापाले यस्तो बताएका हुन् ।
उनले काठमाडौं उपत्यकामा लागुऔषधको प्रयोग र ओसारपसार भयावह बन्दै गएको स्वीकार्दै त्यसलाई रोक्न नेपाल प्रहरीले सशक्त अभियान चलाइरहेको जानकारी दिए । ‘लागुऔषधको माग र आपूर्ति दुवै पक्षलाई नियन्त्रण गर्ने योजना बनाएर अघि बढ्नुपर्छ,’ उनले भने, ‘सबैको ऐक्यबद्धता भएमा मात्र हामी यो समस्या नियन्त्रण गर्न सफल हुन्छौँ ।’
नेपाल प्रहरीले चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा लागुऔषध बरामदमा कीर्तिमानी सफलता हासिल गरेको छ । आईजीपी थापाले प्रस्तुत गरेको तथ्यांकअनुसार, गत वर्षको सोही अवधिको तुलनामा गाँजा बरामदमा ६५ प्रतिशत, अफिममा ७७ प्रतिशत, हेरोइनमा ७९ प्रतिशत तथा अन्य औषधिजन्य लागुपदार्थमा ५३ प्रतिशतले वृद्धि भएको छ ।
समयमै सबै एकजुट हुन नसके देशले उत्पादनशील र सिर्जनशील युवा जनशक्ति गुमाउने अवस्था आउनेतर्फ सचेत गराउँदै उनले यो विषयलाई गम्भीर रूपमा लिन सबैलाई आग्रह गरे । प्रहरीको सक्रियताले चालु आर्थिक वर्षमा लागुऔषध बरामदमा उल्लेख्य वृद्धि भएको तथ्यांक छ ।












