गलकोट।बागलुङमा विसं २०७४ अघि भजन समूह थिएनन् र परम्परागत भजन पूजाआजामा मात्रै सीमित थिए। भजन र चुट्का लोप हुने खतरा बढेपछि नयाँ पुस्ताले भजन संरक्षणमा सक्रियता देखाएका छन्। भजन प्रतियोगिता, तालिम र भजन समितिको गठनले यस क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको छ।
विसं २०७४ देखि भजन समिति गठन भएको छ, जुन अहिले जिल्लाभर ४७ वटा पुगेको छ। सुरुमा जैमिनी भजन सङ्कीर्तन समूहबाट संरक्षण सुरु भयो र विसं २०७८ मा जिल्ला भजन समिति गठन भएपछि गतिविधि तीव्र भयो।
जिल्ला भजन समितिका अध्यक्ष टेकबहादुर केसीका अनुसार धार्मिक प्रतिष्ठान र मठमन्दिरअनुसार समूह गठन, वाद्यवादन सामग्री खरिद, अनुभव आदानप्रदान र व्यावसायिक भजन गाउने काम सुरु भएको छ।
कालिका भगवती गुठीले विसं २०७६ मा १५ दिने भजन तालिम आयोजना गरेको थियो। स्थानीय तहले पनि मादल तालिम प्रदान गरिरहेका छन्।
कालिका मन्दिर भजन समूह बिहान भजन र बेलुका आरती भजन गर्दै आएको छ। विभिन्न मठमन्दिर र व्रतबन्धमा पनि समूह सक्रिय छन्। धार्मिक पर्यटकको पनि लोकभजनप्रति आकर्षण बढिरहेको छ।
यो प्रयासले बागलुङको कला, संस्कृति र धर्ममा लोकभजनको संरक्षण र पुस्तान्तरणमा ठूलो योगदान पुर्याएको छ।













