काठमाडौं । प्रतिनिधिसभा बैठक फेरि पनि शिष्टाचारविहीन दृश्यले भरिएको छ। गृहमन्त्री रमेश लेखकको राजीनामाको माग र भिजिट भिसा प्रकरणमा छानबिन समिति गठनको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू सोमबार संसद् अवरोध गर्नमै केन्द्रित देखिए। तर विरोधको शैली यति अराजक बन्यो कि संसद् स्वयं आफ्नो उद्देश्यबाट विमुख हुँदै गएको आलोचकहरूको ठम्याइ छ।
बैठक सुरु हुँदा नै रास्वपाका सांसदहरू रोस्टम अगाडि पलेँटी कसेर बस्नुले शान्तिपूर्ण विरोध देखिए पनि अर्थमन्त्री विष्णुप्रसाद पौडेल बोल्न थालेपछि उनीहरू अचानक उफ्रिएर चर्को नाराबाजीमा उत्रिए। यस्तो व्यवहारले संसदभित्रको संवाद संस्कृतिमाथि नै प्रश्न उठाएको छ।
अर्थमन्त्री पौडेल बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिन उभिएका थिए। त्यही बेला रास्वपाका सांसदहरूले उस्तै विरोध सुरु गरे। यसले देखायो—सांसदहरूको ध्यान छलफलभन्दा बढी अवरोधमा थियो। मन्त्रीको मुस्कानले कतै राजनीतिक व्यंग्य प्रकट गरे पनि गम्भीर नीतिगत संवादलाई गम्भीरता नदिइएको संकेत पनि दिन्छ।
सांसद सुशीला थिङले संसदमा उठाइएको मानव तस्करी जस्तो गम्भीर आरोपको अस्पष्टताप्रति आपत्ति जनाइन्। उनको भनाइ स्पष्ट छस् ‘कसलाई मानव तस्कर भनिएको हो ? संसदभित्र यस्ता आरोप प्रमाणबिना कसरी गर्न मिल्छ ?’ थिङको यो प्रश्न न केवल विधिसम्मत संसदीय प्रक्रिया र मर्यादाको पक्षमा छ, यो विरोधका नाममा सीमालंघन नहोस् भन्ने चेतावनी पनि हो।
सभामुख देवराज घिमिरेले पनि संसदलाई उत्तरदायी र मर्यादित बनाउन आह्वान गरे। तर लगातार हुने नाराबाजी र कुर्सी घेराउजस्ता क्रियाकलापले उनको आह्वान खोक्रो सावित भइरहेछ। विरोध गर्ने संस्कार लोकतन्त्रमा स्वाभाविक हो, तर त्यसले संसदलाई निष्क्रिय बनाउने हदसम्म जानु गम्भीर समस्या हो।
भिजिट भिसा प्रकरण संवेदनशील छ, छानबिनको माग पनि जायज हुन सक्छ। तर त्यसको माध्यम संसदलाई अराजक प्रदर्शनस्थल बनाउनु भने कदापि स्वीकार्य हुन सक्दैन।













