नुवाकोट। नुवाकोटको बेलकोटगढी नगरपालिका–२ स्थित कुमारी फाँटमा यस सिजन गरिएको सयपत्री फूलको खेतीले खेत मात्र नभई समृद्धिको पनि चित्र कोरेको छ। हरियाली फाँटमा फक्रिएका रंगीचंगी फूलहरूले क्षेत्रको प्राकृतिक सौन्दर्यमा नयाँ रंग भरेका छन्।
मध्यपहाडी भेगमा फैलिएको यो फाँटले उत्पादनसँगै आकर्षक दृश्यमार्फत पर्यटकीय सम्भावनाको संकेतसमेत दिएको छ। खेतमा फूल फुल्दाको दृश्य हेर्दा यहाँको माटोले मात्र अन्न होइन, आशा र सम्भावनाको पनि उत्पादन गरिरहेको आभास हुन्छ।

स्थानीय कृषकको मिहिनेत र लगनले रंगिएको कुमारी फाँट आज सौन्दर्य र श्रमको संगम बनेको छ। आगन्तुकहरूका लागि लोभलाग्दो दृश्य प्रस्तुत गर्ने यस फूल खेतीले किसानहरूको आत्मविश्वास बढाएको छ।
सयपत्री फूलमार्फत आत्मनिर्भरता, रोजगारी र कृषि पर्यटनको सम्भावना बोकेको कुमारी फाँटले देखाएको सफलताले अन्य पहाडी क्षेत्रका किसानहरूलाई पनि प्रेरणा दिएको छ।













