उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जका न्यायाधीस माथि इजलास कक्षमै आक्रमण भएपछि पर्सा प्रहरीले अदालत परिसरमा सुरक्षा व्यवस्थालाई कडाइ गरेको छ ।
१४ वटै न्यायाधीसको व्यक्तिगत सुरक्षामा खटिएका ‘पिएसओ’ र अन्य सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीसमेत परिवर्तन गरेर सुरक्षा व्यवस्थालाई कडाइ गरेको छ ।
यहाँका न्यायाधीसद्वय डा खुसीप्रसाद थारु र अर्जुन महर्जनमाथि इजलास कक्षमा नेकपा (बहुमत) का तीन जना कार्यकर्ताले विहीबार दिउँसो करिव ४ बजेको समयमा इजलास कक्षमै आक्रमण गरेका थिए ।
सो पार्टीको कार्यकर्ता भनिने सिरहा गोलबजारका गर्भु महतो, सर्लाही बरहथवाका पदमबहादुर मगर र प्यूठानका किशोर कुमारलाई प्रहरीले अदालत परिसरभित्रैबाट पक्राउ गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख गौतम मिश्रले न्यायाधीसद्वयमाथि कालोमसी छ्याप्नेलाई जिल्ला अदालत पर्सामा म्याद थप गर्नका शुक्रबार पठाइएको बताए। ‘खाजा खाने बाहना बनाएर अदालतभित्र छिरेका उनीहरुले मौका छोपेर न्यायाधीसद्वयमाथि कालोमसी छ्यापेका थिए,’ एसपी मिश्रले भने, ‘पक्राउ परेकालाई शुक्रबार अदालतमा म्याद थप गर्नका लागि पठाएका छौँ ।’
उनले आक्रमणगर्नेलाई अदालतको मानहानी, साइबर क्राइम, अभद्र व्यवहारलगायतका कसुरमा अनुसन्धान गरिने समेत बताए ।
यसअघि १४ वटै न्यायाधीसको लागि एक–एक जना पिएसओ खटाइँदै आइरहेको थियो भने अदालत परिसरमा एक दर्जन सुरक्षाकर्मी खटाइएको थियो ।
एसपी मिश्रले सो घटनापछि अदालत परिसरमा सुरक्षा व्यवस्था कडाइ गरिएको जानकारी दिए । ‘विगत लामो समयदेखि कार्यरत रहँदै आएका १४ वटै न्यायाधीसको ‘पिएसओ’लाई परिवर्तन गरेर नयाँ पठाएका छौँ,’ एसपी मिश्रले भने, ‘अदालत परिसरको सुरक्षामा खटिने प्रहरीको जनशक्ति समेत थप गरेर सुरक्षालाई अझैँ मजवुत गराउने काम भइरहेको छ ।’













