काठमाडौँ, २२ जेठः ललितपुरको गोदावरी नगरपालिका– ११. चापागाउँस्थित जनभावना क्याम्पसका विद्यार्थी र शिक्षकहरुले गणतन्त्र दिवस–२०८२ को अवसरमा राष्ट्रिय समाचार समिति (रासस)ले सञ्चालन गरिरहेको तस्बीर प्रदर्शनीले पर्यटकीय गन्तव्यको विषयमा राम्रो जानकारी दिएको प्रतिक्रिया दिएका छन् ।
पत्रकारिता विषयमा स्नातक तहमा अध्ययनरत सपना तिमल्सिनाले पर्वतीय पर्यटनसम्बन्धी तस्बीर प्रदर्शनीले नेपालका धेरै पर्यटकीयस्थलबारे जानकारी प्राप्त भएको बताउनुभयो । पर्वतीय पर्यटन र हिमालको विषयमा प्रदर्शनी हेरेर ज्ञान हासिल गर्न पाउँदा खुसी लागेको उहाँले बताउनुभयो । “राससभित्र रहेको मिडिया सङ्ग्रहालय घुम्दा प्रविधिको तीव्ररुपमा विकास भएको थाहा भयो । पुराना प्रविधिको बारेमा ज्ञान हासिल गरियो,” उहाँले भन्नुभयो ।
त्यसैगरी अर्का विद्यार्थी रुपेश थापाले राससका तस्बीर प्रदर्शनीले नेपालको हिमाल र पर्यटकीय गन्तव्यलाई चिनाएको बताउनुभयो । फोटो प्रदर्शनीसँगै राससको मिडिया सङ्ग्रहालय अवलोकन पश्चात मिडिया अध्ययनका लागि सहयोग पुगेको बताउनुभयो ।
सो क्याम्पसकी उपप्रध्यापक शान्ति तिमल्सिनाले राससको फोटो प्रदर्शनीको अवलोकन भ्रमण अत्यन्त प्रभावकारी भएको बताउनुभयो । “मिडिया सङ्ग्रहालयले मिडियाको विगतदेखि वर्तमानसम्म कसरी प्रगति भयो भन्ने कुरा जानकारी लिने मौका मिल्यो । यो ऐतिहासिक पक्षको सदैव जगेर्ना होस्,” उहाँले भन्नुभयो ।
पत्रकारिता विषयका उपप्राध्यापक लक्ष्मण दुलालले राससको तस्बिर प्रदर्शनीले नेपालको पर्वतीय क्षेत्रको जानकारी दिने र पर्यटन विकासमा भएका कार्यको जानकारी लिन सहयोग पुगेको बताउनुभयो ।
सो अवसरमा राससका महाप्रबन्धक सिद्धराज राईले राससको तस्बिर प्रदर्शनीको औचित्य र सान्दर्भिकताका विषयमा जानकारी गराउनुभएको थियो ।
—