काठमाडौं । नेकपा माओवादी केन्द्रले पूर्वघोषित मध्यपहाडी लोकमार्ग केन्द्रित दोस्रो चरणको जागरण अभियान अनिश्चितकालका लागि स्थगित गरेको छ। मौसम विभागले पहाडी क्षेत्रमा भारी वर्षाको चेतावनी दिएपछि अभियान रोकिएको हो। अभियान जेठ २१ देखि २५ गतेसम्म सञ्चालन गर्ने तयारी गरिएको थियो। तर, सडक बिग्रिएको र मौसम प्रतिकूल रहेको जानकारी आएपछि माओवादीले अभियान हालका लागि रोक्ने निर्णय गरेको हो।
पार्टीका मुख्य सचिव गणेशमान पुनका अनुसार, कोशी प्रदेशसहित विभिन्न पहाडी भूभागमा अत्यधिक वर्षा हुन सक्ने पूर्वानुमानका कारण जोखिम नलिने निर्णय गरिएको हो। उनले बताएअनुसार सोमबार जारी गरिएको परिपत्रमा समेत अबको अभियान तालिका उल्लेख गरिएको छैन। यसअघि पहिलो चरणको जागरण यात्रा जेठ २ गते बैतडीको पाटन बजारबाट सुरु भई पोखरामा टुंगिएको थियो।