काठमाडौं । गृहमन्त्री रमेश लेखकले पछिल्लो समय चर्चा र विवादको केन्द्रमा रहेको भिजिट भिसा प्रकरणबारे आफूले संसदीय समितिमा नभई सिधै प्रतिनिधिसभामै विस्तृत जवाफ दिने बताएका छन् । बुधबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा उनले यो विषयमा धेरै सांसदहरूको चासो र जिज्ञासा रहेकाले संसदमै जवाफ दिनु उपयुक्त हुने धारणा राखेका हुन् ।
समितिको बैठकमा सांसदहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका केही कर्मचारीहरूमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको छानबिन र त्यसमा गृहमन्त्री लेखकको समेत संलग्नता रहेको भनी विपक्षी दलहरूले लगाउँदै आएको आरोपबारे प्रश्न उठाएका थिए । यही विषयलाई लिएर विपक्षी दलहरूले निरन्तर संसद् बैठक अवरुद्ध पार्दै आएका छन् ।
गृहमन्त्री लेखकले भने, ‘अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका केही कर्मचारी साथीहरूमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको छानबिन र तत्सम्बन्धमा भइरहेका विषयमा यहाँहरूले जिज्ञासा राख्नुभयो । यो जिज्ञासा यो समितिका माननीय सदस्यहरूलाई मात्रै भएको भए यहीँ जवाफ दिएर जान्थेँ । तर, यो विषयमा अन्य धेरै माननीय साथीहरूलाई पनि जिज्ञासा रहेकाले मेरो प्रार्थना के छ भने, मलाई हाउस (प्रतिनिधिसभा)मा बोल्ने अवसर मिलोस्, म त्यहाँ उठेका सबै प्रश्नहरूको विस्तृत जवाफ दिन तयार छु ।’
उनले संसद्मा जवाफ दिँदा सबै सदस्यहरूका प्रश्न समेटिने र समग्र विषयमा स्पष्ट पार्न सहज हुने विश्वास व्यक्त गरे । विपक्षी दलहरूले भने गृहमन्त्रीको राजीनामा वा निष्पक्ष छानबिन समितिको माग गर्दै आएका छन् ।