काठमाडौं : अग्ला हिमालको काखमा हिउँसँगै खेलेर हुर्केका मुस्ताङवासीले केही वर्षदेखि हिउँ नै छुन पाएका छैनन्।
कम तापमानका कारण पानी नपर्ने (हिउँ पर्ने) जिल्लाका रूपमा परिचित हिमालपारिको जिल्ला मुस्ताङमा पछिल्लो समय हिउँको सट्टा मुसलधारे वर्षा हुन थालेपछि यहाँका बासिन्दा चिन्तामा छन्।
शुक्रबारको गोरखापत्र दैनिकमा समाचार छ, सदरमुकाम जोमसोमका स्थानीय वृद्ध कृष्ण गौचन तीन वर्षयता जोमसोम, कागबेनी, मार्फा, लेतेलगायतका क्षेत्रमा हिउँ नै नपरेको बताउँछन्। ‘हिउँ पर्न छाडेपछि पानीका मुहान सुक्दै जाँदा कतिपय बस्ती खाली हुन थालेका छन्’, उनले भने, ‘पहिला खासै पानी पर्दैनथ्यो, अहिले भने ठुलो वर्षासँगै आउने बढीले कालीगण्डकी नदीको तटीय क्षेत्र बस्ती र खेतीतर्फ फैलिँदै गएको छ।’पर्यावरणीय सन्तुलनमा ध्यान दिन नसके मुस्ताङको मौलिकता नै खतरामा पर्ने उनले बताए।
पूर्वशिक्षक शेरबहादुर गुरुङ हिउँ नपर्दाको असर स्याउ बगानलगायतका खेतीपातीमै प्रत्यक्ष देखिएको बताउँछन्। गुरुङ भन्छन्, ‘कुनैबेला मुस्ताङ दुर्लभ जडिबुटीका रूपमा पनि परिचित थियो। यी बिस्तारै कम हुँदै गइरहेका छन्। स्याउ खेतीमा पनि रोगको प्रकोप बढ्दो छ।’
सडक विस्तारसँगै मुक्तिनाथ दर्शन गर्ने तीर्थयात्री र पर्यटकको सङ्ख्या उल्लेख्य वृद्धि भई आयआर्जन उल्लेख्य भए पनि जलवायु परिवर्तनले पारेको प्रभाव जीविकोपार्जनका लागि चिन्ताजनक रहेको यहाँका बासिन्दा बताउँछन्।
मुस्ताङ घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचन जलवायु परिवर्तनका कारण पानीका मुहान सुक्ने र बर्सातसँगै कालीगण्डकी क्षेत्रमा आउने गेग्य्र्रानसहितको बाढीका कारण बस्ती र खेतीयोग्य जमिनको कटान बढेको बताउँछन्।
‘जलवायु परिवर्तनका कारण हामीले नगरेको गल्तीको सजाय भोगिरहेका छौँ, हिमाल काला पत्थर र परम्परागत बस्ती र खेतीयोग्य जमिन उजाड बन्दै गइरहेकाले यसको संरक्षण चुनौतीपूर्ण बन्दै गइरहेको छ’, उनले भने।













