काठमाडौँ। सन् २०२५ को अप्रिल महिनामा नेपालमा हालसम्मकै उच्च संख्यामा विदेशी पर्यटक भित्रिएका छन्।
नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्क अनुसार अप्रिल महिनामा मात्र १ लाख १६ हजार ४९० विदेशी पर्यटक नेपाल आएका हुन्। बोर्डले अप्रिल महिनाको यो आगमन नेपालको पर्यटन इतिहासमा रेकर्ड भएको उल्लेख गरेको छ।
अप्रिलमा नेपाल आउने पर्यटकमा सबैभन्दा बढी २५ हजार ९३३ भारतीय रहेका छन्। त्यसपछि अमेरिकाबाट १० हजार ५३, चीनबाट ९ हजार ३७ र संयुक्त अधिराज्य बेलायतबाट ६ हजार ८३८ पर्यटक नेपाल आएका छन्। पछिल्लो तथ्याङ्क अनुसार भारतीय र चिनियाँ पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भने भएको देखिँदैन।
बोर्डका अनुसार यो संख्या कोरोना महामारीपूर्व सन् २०१९ को अप्रिल महिनाको तुलनामा १०६.५ प्रतिशतले बढी हो। सन् २०१९ को अप्रिलमा १ लाख ९ हजार ३९९ विदेशी पर्यटक नेपाल आएका थिए। त्यस्तै, सन् २०२४ को अप्रिलमा १ लाख ११ हजार ३७६ र सन् २०२३ को अप्रिलमा ९८ हजार ७७३ पर्यटक नेपाल भित्रिएका थिए। बोर्डले भनेको छ, “हामीले आधिकारिक रूपमा पूर्व–महामारी स्तरको १०६.५ प्रतिशत पुन:प्राप्ति गरेका छौँ, यसले बलियो पुनरुत्थान र नेपालमा बढ्दो विश्वव्यापी चासो देखाउँछ।”
बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले अप्रिल महिनाको पर्यटक आगमन उत्साहजनक रहेको बताए। “यो वृद्धि नेपालको स्थायी आकर्षण र पर्यटन सभ्यताको प्रमाण हो,” उनले भने।
बोर्डको विवरण अनुसार यस वर्षको पहिलो चार महिना (जनवरी–अप्रिल) मा ४ लाख १५ हजार ४८ विदेशी पर्यटक नेपाल भित्रिएका छन्। जनवरीमा ७९ हजार ९९१, फेब्रुअरीमा ९६ हजार ८८० र मार्चमा १ लाख २१ हजार ८०० पर्यटक नेपाल आएका थिए।












