काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा सूचना तथा प्रविधिको क्षेत्रमा ठूलो सम्भावना रहेको भन्दै विदेशी तथा स्वदेशी लगानीकर्तालाई यस क्षेत्रमा सक्रिय हुन आग्रह गरेका छन्।
शुक्रबार आयोजित “राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८२” को अवसरमा बोल्दै प्रधानमन्त्री ओलीले मुलुकको पूर्वाधार – सडक, विद्युत् र संचार माध्यम – अब प्रविधिको आधारमा थप बलियो बनाउँदै लैजानुपर्ने बताए।
“अब हामी हरेक दिन प्रविधिको दिशामा एक पाइला अगाडि बढ्नुपर्छ,” उनले भने, “नेपालमा सुशासन, विकास र नागरिक सेवालाई सहज बनाउन सूचना तथा सञ्चार प्रविधिको उपयोग अपरिहार्य छ।”
प्रधानमन्त्री ओलीले विशेषगरी डेटा सुरक्षामा जोड दिँदै नेपाली समाजमा डिजिटल रूपान्तरणको आवश्यकता औंल्याए। “अब आफ्नै सुरक्षायुक्त डेटा प्रणाली विकास गर्न आवश्यक छ,” उनले भने, “व्यवस्था फेरिए पनि अवस्था फेरिएन भन्नेहरूको लागि प्रविधिमा भएको प्रगति नै जवाफ हो।”
उनका अनुसार नेपालले अब स्याटेलाइट प्रविधितर्फ पाइला चालिसकेको छ र नयाँ पुस्तामा प्राविधिक क्षमताका सयौं सक्षम युवा तयार भइसकेका छन्। उनले सूचना प्रविधिको सही उपयोग गर्दै यसलाई सशक्त बनाउँदै लैजानुपर्नेमा जोड दिए।
कार्यक्रमका क्रममा प्रधानमन्त्री ओलीले बागमती प्रदेश सरकारको सवारी अनुमतिपत्र (लाइसेन्स) र सवारीधनी प्रमाणपत्र (ब्लु बुक) लाई ‘नागरिक एप’ मार्फत डिजिटल रूपमा पहुँचयोग्य बनाउने कार्यको औपचारिक शुभारम्भ पनि गरे।
त्यसै अवसरमा सूचना प्रविधिको क्षेत्रमा योगदान पुर्याउने विभिन्न व्यक्तित्व तथा संस्थालाई सम्मान गरिएको थियो। प्रा। डा। शशीधरराम जोशीलाई ‘राष्ट्रिय सूचना प्रविधि अवार्ड’ प्रदान गरियो।
नेपाल डिजिटल यात्राको प्रारम्भिक चरण पार गर्दै प्राविधिक आत्मनिर्भरता तर्फ अघि बढिरहेको प्रधानमन्त्री ओलीको सम्बोधनले संकेत गरेको छ।













