काठमाडौं । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा फेरि एक नेपाली विद्यार्थीको रहस्यमय मृत्यु भएको छ। यसपटक निधन भएकी हुन् वीरगञ्जकी प्रिसा साह, जो केही महिनाअघि सोही संस्थामा मृत भेटिएकी बुटवलकी प्रकृति लम्सालको न्यायका निम्ति सडकमा उत्रिएकी युवती थिइन्।
दुई महिनाअघि प्रकृतिको मृत्युपछि कलेज प्रशासनविरुद्ध आवाज उठाउने विद्यार्थीहरूमध्ये एक थिइन् प्रिसा। तर वैशाख १८ गते, प्रकृतिकै नियति उनका लागि पनि दोहोरिएको छ। उनी कलेजको होस्टेलमा मृत फेला परेकी हुन्। मृत्यु आत्महत्या हो वा कुनै अन्य कारण, सो विषय हालसम्म पुष्टि हुन सकेको छैन।
ओडिसा राज्य सरकारले घटनाबारे छानबिन प्रक्रिया सुरु गरिसकेको जनाएको छ। घटनाबारे बिहीबार राति ८स्१० बजे जानकारी पाउँनेबित्तिकै प्रहरी आयुक्तसहितको टोली घटनास्थलमा पुगेको जनाइएको छ। प्रारम्भिक अनुसन्धानमा प्राविधिक विश्लेषण र सोधपुछ भइरहेको जनाइएको छ।
२० वर्षीया प्रिसा वीरगञ्ज–१५ मा परिवारसँग अस्थायी बसोबास गर्दै आएकी थिइन्। उनी सर्लाही मूल घर भएकी हुन् र किट कलेजमा स्नातक पहिलो वर्षमा अध्ययनरत थिइन्। परीक्षाको कारण होस्टेलमै बस्दै आएकी उनको शव बिहीबार साँझ आफ्नै कोठामा भेटिएको हो।
विशेष कुरा के छ भने घटनाका केही घण्टा अगाडि, दिउँसो ३ बजे मात्र उनले आफ्नो परिवारसँग फोनमा कुरा गर्दै ‘मे १८ तारिखमा घर आउँछु, टिकट काटिदिनुहोस्’ भनेकी थिइन्। त्यही संवाद उनका लागि अन्तिम बन्यो।
शव भेटिएको केहीबेरपछि राति ९ बजे प्रिसाको मृत्युको खबर कलेज प्रशासनबाट परिवारलाई दिइएको थियो। उनका भाइ गौरवका अनुसार, त्यो खबरले सम्पूर्ण परिवार स्तब्ध बनाएको थियो।
प्रिसा पढाइमा मेधावी थिइन् र उच्च शिक्षाको सपना बोकेर एक वर्षअघि मात्र भारत गएकी थिइन्। परिवारले उनलाई किट जस्तो महँगो कलेजमा पठाउँदा ठूलो आशा राखेका थिए— एक दिन केही बनेर फर्किनेछिन् भनेर। तर त्यो सपना अधुरो रह्यो।
विद्यार्थी र अभिभावकबीच कलेज प्रशासनप्रति पुनः असन्तुष्टि देखिएको छ। विद्यार्थी संघ, नेपाली समुदाय तथा अधिकारकर्मीहरूले घटनाको निष्पक्ष छानबिन र विद्यार्थी सुरक्षाको ग्यारेन्टी माग गरेका छन्।
दुःखद विडम्बना के छ भने, न्यायको लागि सडकमा उत्रिएकी एक युवती आज आफैं अन्यायको शिकार बनेर कहिल्यै नफर्किने गरी अस्ताइन्।













