काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा दलगत हुने गरी उम्मेदवारी नदिने तर उपयुक्त स्वतन्त्र उम्मेदवारलाई सघाउन आह्वान गरिने निर्णय गरेको छ ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गत सम्बन्धन र आंगिक क्याम्पसहरूमा ५ चैतमा हुने स्ववियु निर्वाचनमा रास्वपाले स्वतन्त्र विद्यार्थीलाई उमेदवारी उठाउने तयारी गरेको प्रष्ट देखिएको छ ।
नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायतका दलका विद्यार्थी संगठनका नेताहरू स्ववियुको तयारीका लागि जुटिसकेका छन् । तर संसद्को चौथो दल रास्वपाले विद्यार्थी संगठन नबनाउने नीति लिएको छ । कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार स्ववियु निर्वाचनमा रास्वपाका तर्फबाट उम्मेदवार हुने छैनन् ।
‘ उनले भने,‘स्वतन्त्र विद्यार्थी युनियन स्वतन्त्र नै हुनुपर्दछ । हाम्रो पार्टीको नाम स्वतन्त्र छ । तर, स्वतन्त्र विद्यार्थी युनियनको चरित्र नै स्वतन्त्र हो,’ बुर्लाकोटीले भने, ‘चरित्र स्वतन्त्र भएको र शैक्षिक हितको लागि काम गर्ने विद्यार्थी नेताहरू निर्वाचित हुनुपर्दछ । दलीय हिसाबले हुनु हुँदैन ।’ विद्यार्थी हक हित, शैक्षिक वातावरण सुधार लगायका काममा क्रियाशील विद्यार्थी नेताहरू स्ववियुमा विजयी हुनुपर्ने रास्वपाको मान्यता रहेको उनको भनाइ छ ।
स्वतन्त्र रूपमा उम्मेदवार बनेकालाई समेत पार्टीले पक्षधरता नदेखाउने बुर्लाकोटीले जानकारी गराए । आंगिकतर्फ ६२ र सम्बन्धन प्राप्त एक हजार ४० क्याम्पसमा स्ववियु निर्वाचन गर्न लागिएको छ । विद्यार्थी संगठनहरुबीच देखिएको आन्तरिक विवादका कारण २०७९ चैतमा भएको स्ववियु निर्वाचन आंगिकतर्फ ९ वटा क्याम्पसले निर्वाचन गराउन सकेको थिएन् ।











