काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सोनाम ल्होसार आउँदा आफ्नो बाल्यकाल याद आउने बताएका छन् ।
बिहीबार सोनाम ल्होसारको शुभकामना दिँदै प्रधानमन्त्री ओलीले सोनाम ल्होसार आउँदा घरका छाना र डाँडामा बनाइएका मानेमाथि राता, सेता, पहेँला, नीला र हरिया ध्वजा फरफराएको सम्झना आउने बताएका हुन् । उनले यो धार्मिक तथा सांस्कृतिक पर्वको अवसरमा सबैलाई शुभकामना दिएका छन् ।
ल्होसारमा गाइने सेला नेपाली लोक संगीतको महत्त्वपूर्ण विधा भएको प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन् । त्यसैले यो पर्व धार्मिक साथै सांस्कृतिक पर्व पनि भएको प्रधानमन्त्री ओलीले बताए ।
‘आज तामाङ समुदायको नयाँ वर्ष, अर्थात् सोनाम ल्होसार, सोनाम ल्होसार आउँदा घरका छाना र डाँडामा बनाइएका मानेमाथि राता, सेता, पहेँला, नीला र हरिया ध्वजा फरफराएको सम्झना आउँछ, यस अवसरमा डम्फु बजाएर गाइने सेलो नेपाली लोक संगीतको एउटा महत्त्वपूर्ण विधा हो, हाम्रो सुन्दर पर्व सोनाम ल्होसारको अवसरमा झाम्मान् (सबै) नानाआङा (दिदीबहिनी) तथा ज्योज्योआले (दाजुभाइ)हरूमा हार्दिक शुभकामना’, प्रधानमन्त्री ओलीले शुभकामना सन्देशमा भनेका छन् ।











