काठमाडौं । चीनको तिब्बत केन्द्रबिन्दु भएर आज बिहान गएको भुकम्पमा ओखलढुंगा, सोलुखुम्बु, सङ्खुवासभा र ताप्लेजुङ प्रभावित भएका छन् । प्रहरीका अनुसार भूकम्पका कारण चारवटा घरमा आंशिक क्षति र एउटा घर पूर्ण रूपमा भत्किएको छ।
ओखलढुंगामा क्षतिग्रस्त दुई घरमध्ये चिसंखुगढी गाउँपालिका ५ सिरिसेका इन्द्रबहादुर परियारको घर पूर्ण क्षति भएको कोसी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । ताप्लेजुङको इलाका प्रहरी कार्यालय दोभानको कार्यालय प्रमुख निवास, कार्यालय र मेस भवनमा क्षति पुगेको प्रहरीले जनाएको छ।
ओखलढुंगाको सिद्धिचरण नगरपालिका २ चुहानछापका हिमाल कार्कीको घर, सोलुखुम्बुको थुलुङ दुधकोसी गाउँपालिका ७ लुरुवाका हर्कबहादुर खत्री र खुम्बु पासाङ ल्यामु गाउँपालिका ५ हेलाजुङका आङ ङिमा शेर्पाको घरमा सामान्य क्षति भएको प्रदेश पहरी कार्यालय विराटनगरले जनाएको छ। सङ्खुवासभाको भोट खोला गाउँपालिका १ किमाथांकाका तेन्छेदी शेर्पाको घरमा पनि सामान्य क्षति भएको प्रहरीले जनाएको छ। क्षतिबारे बुझ्ने क्रम जारी रहेको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी नायब महानिरीक्षक राजन अधिकारीले जानकारी दिए।
चीनको तिब्बत केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी ५३ जना चिनियाँ नागरिकको मृत्यु भएको चिनियाँ सञ्चारमाध्यमले पुष्टि भएको जनाएका छन्।












