तनहुँ– तनहुँको घिरिङ गाउँपालिकामा सिँचाइ सुविधाका लागि खनिएको डिप बोरिङ अलपत्र अवस्थामा रहेकाे छ । घिरिङ गाउँपालिका–४ को करूवाटारलगायतका कृषियोग्य भूमि सिँचाइका लागि खनिएको डिप बोरिङ अलपत्र अवस्थामा पुगेको हो । कृषि क्षेत्रमा गरेको सरकारी लगानी खेर जाने अवस्थामा पुगेको वडा नम्बर ४ का वडासदस्य मनबहादुर रानाभाटले बताए ।
सरकारका विभिन्न निकायको सहयोगमा करूवाटारको खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुर्याउन डिप बोरिङ खनिए पनि बोरिङ सञ्चालनको लागि विद्युत् सेवा पुर्याउन नसक्दा डिप बोरिङ अलपत्र बनेको छ ।
‘विद्युत् सेवा नहुँदा बोरिङ प्रयोगमा आउन सकेको छैन’, उनले भने, ‘लामो समयदेखि बोरिङ सञ्चालन नहुँदा बोरिङमा प्रयोग गरिएको फलाम खिया लागेर नष्ट हुने अवस्थामा पुगेको छ ।’ गाउँपालिकाले खनेको एउटा बोरिङमा सोलार प्लान्ट जडान गरेर केही समय पानी निकालिए पनि अहिले सोलार पनि चल्न छाडेको छ । बोरिङ खनिएको स्थानसम्म विद्युत् सेवा पुर्याउन ८५ वटा पोल गाडेर ११ हजार भोल्टेजको लाइनको तारसमेत टाँगिसकिएको छ । विद्युत्को लाइन जडानका लागि कतैबाट पनि पहल नहुँदा किसान सिँचाइबाट वञ्चित भएका छन् ।











