म्याग्दी– म्याग्दीमा लाटोकोसेरो संरक्षण अभियान सुरु भएको छ । ‘प्रकृतिका साथीहरू’ नामक संस्थाले वयट्ली फन्ड फर नेचर (डब्लुएफएन) अवार्डको सहयोगमा यहाँका विद्यालय र समुदायस्तरमा उक्त अभियान सुरु गरेको हो ।
संस्थाका लाटोकोसेरो संरक्षणदूत आयुष ढुङ्गानाका अनुसार अङ्ग्रेजीमा ‘आउल’ भनिने यो पक्षी किसानको साथी हुँदाहुँदै पनि हेपिएको पक्षी मानिन्छ ।
अभियानअन्तर्गत विभिन्न विद्यालय र समुदायस्तरमा जनचेतना शिविर आयोजना गर्न लागिएको उनको भनाइ छ ।
एउटा लाटोकोसेरोले फूल पारेर बच्चा हुर्काउने बेलासम्म तीन हजार मुसा खाने भएकाले यिनलाई किसानको साथी भनिने उनले जानकारी दिए । प्रकृतिलाई सन्तुलित राख्न लाटोकोसेरोको उत्तिकै महत्त्वपूर्ण भूमिका रहन्छ ।
पछिल्लो समय चोरीसिकारीका कारण यसको सङ्ख्या दिनप्रतिदिन घट्दै गएको छ । लाटोकोसेरो संरक्षणका लागि वार्षिक लाटोकोसेरो तथा हुचिल उत्सवसमेत हुँदै आएको छ । लाटोकोसेरोलाई धनकी देवी लक्ष्मीको बाहनका रूपमा पनि लिइन्छ ।













