बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई मानार्थ महारथी दर्जा प्रदान गरे । शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरेका हुन् ।
यसअघि विहिबार बिहान द्विवेदीलाई नेपाली सेनाले जंगी अड्डामा आयोजित एक कार्यक्रममा गार्ड अफ अनरले सम्मानित गरेको थियो । द्विदेवी प्रधानसेनापति अशोक राज सिग्देलको औपचारिक निमन्त्रणामा बुधबार काठमाडौँ आएका थिए ।
लामो समयदेखि नेपाल र भारत दुवै मुलुकका सेना प्रमुख एक अर्का मुलुकका मानार्थ महारथी रहने परम्परा छ । नेपाली सेनाका प्रधानसेनापतिले पनि भारतबाट मानार्थ महारथीको दर्जा पाउने गरेका छन् ।

नेपाली सेनाको प्रधानसेनापतिलाई भारतीय सेनाका सर्वोच्च कमान्डर अर्थात भारतका राष्ट्रपतिबाट र भारतीय सेनाको तीन प्रभागमध्ये प्रायः स्थलसेना प्रमुखलाई नेपालका राष्ट्राध्यक्षले मानार्थ महारथी दर्जा दिने परम्परा छ । भारतीय सेनामा स्थलसेना, जलसेना र वायुसेना गरेर तीन प्रभाग र तीन प्रमुख हुन्छन् ।
विज्ञहरुका अनुसार दुई देशबीचको ‘मानार्थ महारथी’ पदवी निकै महत्वपूर्ण र अर्थपूर्ण छ । यसले नेपाली र भारतीय सेनाबीच सम्बन्धको प्रगाढता पुष्टि गर्छ । नेपाली सेनाका पूर्व सहकाय रथी गोकुल भण्डारी मानार्थ पदवीले नेपाल–भारत दुई राष्ट्रको संवेदनशीलतामा मद्दत पुग्ने बताउँछन् ।
उनी भन्छन्, ‘मुख्य गरी दुई राष्ट्रको सवेदनशिलतामा मद्दत गरोस् भनेर मानार्थ पदवी दिने हो । यसले दुबै राष्ट्रको सहिष्णुता वृद्धि गर्छ । यो एक प्रकारको सम्मान हो ।’
यस प्रकारको सम्मानले कहिलेकाहीँ दुई देशबीचको आन्तरिक समस्या समाधानमा समेत उचित भूमिका निर्वाह गर्ने उनको भनाइ छ ।
सुरक्षा मामिलाविज्ञ डा. दीपकप्रकाश भट्टका अनुसार मानार्थ पदवीको चलन सुरु हुँदा हाम्रो सेना आधुनीकरण भएको र ब्यारेकमा बस्ने खालको संरचना थिएन । ब्रिटिस सन् १९५० मा भारत छाडेर गएपछि र भारतबाट पाकिस्तान स्वतन्त्र भएपछि नेपाल र भारतको सम्बन्धमा शीतयुद्ध सुरु भइसकेको थियो । चीनमा कम्युनिष्ट पार्टीले सन् १९४९ मा सत्ता हातमा लिएको थियो ।

उनका अनुसार मानार्थ पदवी एउटा परम्परा हो । यो दुई देशका सेनाबीच आत्मीयता र घनिष्ठताको प्रतीक हो । वाग्ले भन्छन्, ‘दुई देशका सेनाबीचको घनिष्ठता झल्काउँछ । यस्तो घनिष्ठताले सैन्य मात्र नभई कूटनीतिक सम्बन्ध बिस्तारमा समेत सकारात्मक प्रभाव पार्छ । यसले भविष्यमा समेत राम्रो असर पार्छ ।’
नेपाली सेनाका प्रवक्ता गौरवकमाुर केसीका अनुसार मानार्थ पदवी दिने प्रचलन ऐतिहासिक र पुरानो हो । उनी भन्छन्, ‘सैनिक अभिलेखअनुसार सबैभन्दा पहिले स्वतन्त्र भारतका जनरल केएन करिअप्पालाई सन् १९५० मा नेपालमा मानार्थ महारथी पद्वी प्रदान गरियो । नेपालका सेनाका सुरेन्द्रबहादुर शाहलाई २०२६ सालमा महारथी दर्जाले सम्मानित गरिएको थियो ।’
अहिलेसम्म २४ जना भारतीय सेना प्रमुखले नेपालको मानार्थ पदवी ग्रहण गरिसकेका छन् भने १८ जना नेपालका सेना प्रमुखले भारतमा यो पदवी ग्रहण गरेका छन् ।













