काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ठूला व्यवसायीसँग भूकम्प प्रभावितलाई हजार घर बनाइदेऊ भनेर अपिल गर्न सक्ने बताएका छन्। तर, कुनै पार्टी कार्यालय बनाउन व्यवसायीबाट सहयोग लिन नहुने उनको तर्क छ।
सरकारले बाढीले नबग्ने सय पुल, गाउँमा शैक्षिक संस्था र स्वास्थ्यचौकी बनाउन व्यवसायीसँग अपिल गर्न सक्ने उल्लेख गरेका छन्।
उनले भनेका छन्, ‘अझ ठुलो दान लिने दिने भए– देशलाई ऋणमुक्त बनाउन मुठ्ठी खोलेर साथ देऊ, यस्तो पनि त भन्न र गर्न मिल्छ।’
उनले स्वदेश र विदेशमा रहेका हरेक कांग्रेस सदस्य पार्टीको केन्द्रीय कार्यालय आफैँले बनाएको गर्व गर्ने उनको भनाइ छ।
उनले थपेका छन् , ‘हो, कयौँ व्यवसायीको ससानो धन पनि यो निर्माणमा जोडिएको छ । तर मूलतस् पार्टी सदस्यको मन जोडिएको छ यो बन्दै गर्दा उसबेलाका ४ लाख बढी क्रियाशील सदस्यताको रकम यसमा प्रयोग भएको छ ।’
एमालेको पार्टी कार्यालय बनाउन भाटभटेनीका सञ्चालक व्यवसायी मीनबहादुर गुरुङले दान गरेको १० रोपनी १४ आना जग्गामा भवन निर्माण थालेपछि चर्को आलोचना भइरहेको छ।













