पोखरा, ८ पुस । कास्की जिल्ला टेनिस संघले “१९ औं माछापुच्छ«े पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता २०७९” तयारी सुरु गरेको छ । माछापुच्छ«े बैंकको मुख्य प्रायोजनमा यही पुस ११ गतेबाट १५ गते सम्म पोखरा रंगशालाको टेनिस कोर्टमा सञ्चालन हुन लागेको हो । माछापुच्छ«े टेनिस प्रतियोगितामा अहिले सम्मकै ठूलो सहभागिता रहने जानकारी शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बताइएको छ ।
कास्की टेनिस संघका उपाध्यक्ष नवीन चालिसेका अनुसार प्रतियोगितामा सहभागिता जनाउन भारत, बेलायत र भुटानबाट समेत खेलाडीहरु पोखरा आउने छन् । उनले भने–“यो माछापुच्छ«े टेनिस खेलको इतिहासमा नै सर्वाधिक सहभागिता हो । यसले खेलकुदमार्फत पोखराको पर्यटन प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छौं ।” सहभागी खेलाडी मध्ये ५७ जना पोखराका छन् भने ९३ जना खेलाडी बाहिरबाट आउने छन् ।
प्रतियोगिता अन्तर्गत मेन्स तथा उमेन्सका सिंगल्स र डबल्स तथा ३५, ४५, ५५, ६५ वर्ष माथि गरी विभिन्न उमेर समूहमा १२ इभेन्टमा प्रतिस्पर्धा हुने भएको छ । प्रतियोगितामा मेन्स सिंगल्समा २७ जना, मेन्स डबल्समा १२ जना, उमेन्स सिंगल्समा ८ जना, ३५ वर्ष माथि मेन्स सिंगल्समा ३४ जना, डबल्समा १७ जना, ४५ वर्षमाथि सिंगल्समा ३५ जना, डबल्समा १९ जना, ५५ वर्षमाथि सिंगल्समा २४ जना, डबल्समा १२ जना, ६५ वर्ष माथि सिंगल्समा १२ जना र डबल्समा ३ जना गरी कूल २ सय ३ जना खेलाडीले नाम दर्ता गरेको जानकारी सो अवसरमा दिइएको थियो । प्रतियोगितामा ओपन मेन्स तथा उमेन्स सिंगल्सतर्फका बिजेताले जनही नगद ८० हजार र उपविजेताले नगद ४० हजारका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसै गरी सेमिफाइना लिष्टले नगद १० हजारसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजक कास्की टेनिसले जनाएको छ ।
प्रतियोगितामा मेन्स तथा उमेन्स डबल्सतर्फ बिजेताले नगद ३० हजार, उपविजेताले १५ हजारसहित ट्रफी र सेमिफाइनालिष्टले नगद १० हजार नगदसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । ३५ वर्ष माथि भेट्रान्स सिंगल्सतर्फको बिजेताले नगद ६० हजार, उपविजेताले ३० हजारसहित ट्रफी तथा मेडल प्राप्त गर्नेछन् भने सेमिफाइनालिष्टले नगद १० हजार सहित पदक प्राप्त गर्ने र डबल्सतर्फ विजेताले नगद २० हजार, उपविजेताले नगद १० हजार सहित ट्रफी संगै सेमिफाइनालिष्टले नगद १० हजार सहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।
४५ वर्ष भन्दा माथीको सिंगल्स विजेताले नगद ४० हजार, उपविजेताले २० हजार र सेमीफाइनालिष्ट नगद १० हजारका साथमा ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने छ । त्यस्तै सोही स्पर्धाको डबल्सतर्फ विजेताले नगद २० हजार, उपविजेताले नगद १० हजार तथा सेमिफाइनालिष्टले नगद १० हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
प्रतियोगिता अन्तर्गत नै हुने ५५ वर्ष माथिको सिंगल्सतर्फको विजेताले नगद ३० हजार, उपविजेताले १५ हजार, सेमीफाइनालिष्टले जनही नगद १० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यस्तै डबल्सतर्फको बिजेताले २० हजार, उपविजेताले नगद १० हजार र सेमिफाइनालिष्टले जनही नगद १० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगितामा ६५ वर्ष माथिको सिंगल्सतर्फ बिजेताले नगद १५ हजार, उपविजेताले नगद ७ हजार ५ सय तथा सेमीफाइनालिष्टले जनही नगद २ हजार ५ सयसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
“१९ औं माछापुच्छ«े पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता २०७९” सम्पन्न गर्न करिव १६ लाख ५० हजार खर्च हुने कास्की टेनिस संघका कोषाध्यक्ष अनुज बास्तोलाले बताए । प्रतियोगितामा पुरस्कार राशिमा ७ लाख ४० हजार खर्च हुने उनको भनाई छ । प्रतियोगिता सम्पन्न गर्न माछापुच्छ«े बैंकले मुख्य प्रायोजन वापत नगद ५ लाख उपलव्ध गराउने भएको छ ।













