काठमाडौँ । मन्त्रिपरिषद्को नियमित बैठक आज बस्दै छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा आज साँझ ५ बजे बैठक बोलाइएको हो ।
बैठकमा मन्त्रालयहरूका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णयसँगै शुक्रवार(भोली) मात्रै अवकाशमा जान लागेकी मुख्य सचिव लीलादेवी गडतौलालाई धन्यवादसहित नयाँ मुख्य सचिव नियुक्तिको तयारीसमेत रहेको प्रशासन विशेष स्रोतले जानकारी दिएको छ ।
हालकी मुख्य सचिव गडतौला ५८ वर्षे उमेर हदका कारण शुक्रवार राती १२ बजेदेखि अवकाशमा जाँदै छिन् । गड्तौला १० साउनमा मुख्य सचिव नियुक्त भएकी थिइन् । उनी नेपालको पहिलो महिला मुख्य सचिव हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेसँगै स्वतः निलम्बन हुन पुगेका मुख्यसचिव डा. वैकुण्ठ अर्याललाई गत १० असारमा राष्ट्रिय योजना आयोगमा राजपत्राङ्कित विशिष्ट श्रेणीको मुख्यसचिव सरहको विशेष पद सिर्जना गरेर सारिएसँगै प्रधानमन्त्री कार्यालयमा कानुन मामिला हेर्ने सचिव गडतौलाले वरिष्ठताका आधारमा स्वतः निमित्त मुख्यसचिवको जिम्मेवारी पाएकी थिइन् ।
आजको मन्त्री परिषद् बैठकले रेडियो नेपालका लागि कार्यकारी निर्देशक तथा चलचित्र विकास वोर्डको अध्यक्षको नियुक्तीसमेत गर्ने सक्ने संभावना छ ।













