सर्वस्व समर्पण गर्ने तथा जीवन अर्पेर सेवा गर्ने, भावना नआइकन केवल देखादेखि गरेर गुरु नबनाउनू । साँचो र यथार्थ प्रक्रिया सहज र सरल हुनुपर्छ ।
हृदयमा भाव उम्रेपछि मात्रै गुरु बनाउनू र गुरुको वचनमा पूर्ण विश्वास मानी म सत्चित् आनन्द परमात्मा हुँ भन्ने ज्ञानलाई दृढ गर्नू ।
कहीँ नजानू, केही नसोच्नू । लोभ, मोह, क्रोध, ईष्र्या, त्यागी, अपनत्वको साथ गुरुको सेवा गर्नू । साकार सेवा गर्ने संयोग नपरे मानसिक सम्बन्ध राख्नू, परन्तु गुरुबाहेक अन्य कुनै वस्तु, व्यक्ति स्वार्थमा चित्त नजाओस् । एकान्त र अनन्य भक्तिले जीवनमा पूर्णता पाइन्छ । आकाङ्क्षा र अपेक्षा दुवैलाई छोडी आनन्द सागरमा एक्लै बस ।
विचार–इच्छा कल्पनालाई उठ्नेबित्तिकै शान्त नगरेपछि शान्त गर्न गाह्रो हुन्छ । स्थिर नभई इच्छा जन्मेको थाहा पाइँदैन । त्यागले बाहिरको व्यर्थलाई छोड, वैरागले मनलाई आपूmभित्र मोड ।
गुणबाट जन्मिएका सब भेद चञ्चल छन् । चञ्चलसँग रहेर अचल स्थान पाइँदैन ।
जमाएका सम्पत्ति र संस्कार मिथ्या हुन् । यिनीलाई नबिर्सी आपूm सम्झिँदैन । ईश्वरमा सुम्पी सबै हृदयमा बस । इन्द्रियलाई आदेश देऊ मायामा नफँस ।
माधुर्य र शृङ्गार दुर्लभ तत्व हुन्, आत्माको नित्य मिलन माधुर्यको भाव हो, सरल र शान्त रहनु परम शृङ्गार हो ।
सबैमा म छु, सबै ममा, मेरो कल्पना हो सब ।
एकत्वको दृढतालाई, दिव्यतामा बदलिनु, शरीर रहोस् कि जाओस्, क्षणभर पनि ध्यान नदिनु । स्वप्नमा स्वयं नै स्वयंलाई जो हेर्दछ, जाग्रत पनि स्वप्न हो, त्यसलाई किन हेर्दछौ ?
साभारः ‘विचारप्रवाह’ पुस्तकबाट













