काठमाडौँ । डेढ वर्षअघि उद्घाटन गरिसकिएको धरहराको पुनर्निर्माण कार्य रोकिएको छ । पुनर्निर्माणका क्रममा सुन्धारामा पानी आउने काठको डुँड काटिएपछि ऐतिहासिक सम्पदा नष्ट भएको भन्दै काठमाडौँ महानगरपालिका र स्थानीयवासीको अनुरोधमा तत्कालका लागि काम रोकिएको हो ।
काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले धरहरा पुनर्निर्माणका क्रममा महानगरको पुरातात्त्विवक सम्पदा नै मासिएको हुनाले त्यसको निर्माणका लागि पुनः अध्ययन नभएसम्म काम रोकिएको जानकारी दिए ।
कामपा–२२ का अध्यक्ष चिनीकाजी महर्जनले धरहरा पुनर्निर्माणका क्रममा निर्माण कम्पनीले धरहरा क्षेत्रको सम्पदालाई नष्ट गरेकाले पुनर्निर्माणको काम तत्कालका लागि रोकिएको बताए । सहरी विकास मन्त्रालयको भवन विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ ९भवन तथा आवास०का प्रमुख कोषनाथ अधिकारीले पुनर्निर्माणका लागि खन्ने क्रममा भाँचिएको डुँडको निर्माण तथा सुन्धारामा पुनः पानी ल्याउनका लागि सरकार प्रतिबद्ध रहेको बताउँदै त्यसका लागि अध्ययन सुरु गरिएको जानकारी दिए ।
उहाँका अनुसार टुँडिखेलमा बोरिङ गरेर सडकमुनिबाट पाइप जडान गरी सुन्धारामा पानी ल्याउने कार्य सुरु भइसकेको छ । सुन्धारामा पानीको स्थायी स्रोतका लागि मेलम्चीको पाइप जडान गर्ने योजना पनि छ ।
पुनर्निर्माण कार्य रोकिनुअघि धरहरा क्षेत्रमा भइरहेका निर्माण कार्य निकै सुस्त गतिमा हुँदै आएको थियो । दुई वर्षभित्र काम सम्पन्न गर्ने गरी चार वर्षअघि शिलान्यास गरिएको धरहरा पुनर्निर्माणका लागि चार पटक म्याद थप भइसकेको छ भने पाँचौँ पटक म्याद थपको तयारी भइरहेको छ । चौथो पटक थप गरिएको म्याद यही पुस मसान्तभित्र सकिँदैछ ।
२०७७ असोज २० गतेभित्र धरहराको सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्ने गरी राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र निर्माण कम्पनी रमन कन्स्ट्रक्सनबीच २०७५ सालमा सम्झौता भएको थियो । सहरी विकास मन्त्रालयको भवन विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ ९भवन तथा आवास०का प्रमुख अधिकारीका अनुसार धरहरा स्तम्भ निर्माणसम्बन्धी काम अझै पाँच प्रतिशत र धरहरा क्षेत्रको काम अझै २२ प्रतिशत बाँकी रहेको बताए । सम्पूर्ण काम नसकिँदै गत २०७८ साल वैशाखमा धरहराको उद्घाटन गरिएको थियो ।













