काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाको उम्मेदवारी दर्ता भएको छ ।
आज दिउँसो सिंहदरबारस्थित दलको कार्यालयमा संसदीय दलको नेताका लागि सभापति देउवा र महामन्त्री थापाले मनोनयन दर्ता गराएका हुन् ।
कांग्रेस संस्थापनइतर समूहले महामन्त्री थापालाई दलको नेताको साझा उम्मेदवार बनाएसँगै संसदीय दलको नेतामा सभापति देउवा र थापाबीच प्रतिस्पर्धा हुने भएको हो ।
सभापति देउवाको प्रस्तावकमा नेता रामचन्द्र पौडेल र समर्थकमा उपसभापति पूर्णबहादुर खड्का रहेका छन् ।
महामन्त्री थापाको प्रस्तावकमा डा। शेखर कोइराला रहेका छन् भने समर्थकको रुपमा उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र प्रदीप पौडेल छन् ।
अब दिउँसो साढे ३ बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन हुने छ भने साढे ३ देखि ४ बजेसम्म उम्मेदरवारविरुद्ध उजुरी दिन पाइने छ ।
संसदीय दलको नेतामा उम्मेदवारी दिएका उम्मेदवारले साढे ५ बजेभित्र आफ्नो उम्मेदवारी फिर्ता लिन पाउने छन् ।
बेलुका पौने ६ बजे उम्मेवारको अन्तिम नामावली प्रकाशन हुनेछ भने पुस ६ गते बुधबार बिहान ८ बजेदेखि १० बजेसम्म संसदीय दलको नेताका लाति मतदान हुने निर्वाचन समितिका संयोजक भीष्मराज आङदम्बेले जनाएका छन् ।
संसदीय दलको नेता चुन्ने प्रक्रिया :
कांग्रेस संसदीय दलको विधान, २०७४ मा दलको नेता चयनको व्यवस्था रहेको छ । संसदीय दलमा रहेका प्रतिनिधिसभाका सदस्यबाट एकभन्दा बढी दाबेदार रहेको अवस्थामा निर्वाचन हुने व्यवस्था विधानले गरेको छ ।
विधानको दफा ६ मा सम्पूर्ण सदस्यको ५० प्रतिशतभन्दा बढी मत ल्याउने उम्मदेवार दलको नेता बन्ने व्यवस्था छ । दुईभन्दा बढी प्रतिस्पर्धी रहेको अवस्थामा पहिलो चरणमा कसैले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसके निर्वाचन दोस्रो चरणमा प्रवेश गर्ने व्यवस्था रहेको छ ।
पहिलो चरणमा बढी मत ल्याउने दुई उम्मेदवारबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुनेछ भने बाँकी स्वतः बाहिरिनेछन् । दुई प्रतिस्पर्धीमा ५० प्रतिशतभन्दा बढी मत ल्याउने नै दलको नेता निर्वाचित हुनेछ ।
निर्वाचन गराउन र निर्वाचन गर्ने प्रक्रिया निर्धारण गर्न केन्द्रीय समितिले निर्वाचन समिति बनाउने व्यवस्था छ ।
कांग्रेसको कार्यसम्पादन समिति बैठकले सहमहामन्त्री भीष्मराज आङ्देम्बेको संयोजकत्वमा केन्द्रीय सदस्यहरू पुष्पा भुसाल र प्रकाश रसाइली स्नेही सदस्य रहेको तीन सदस्यीय समिति गठन गरिसकेर निर्वाचन कार्यक्रमसमेत सार्बजनिक भइसकेको छ ।













