काठमाडौं । भारतले बिहीबार परमाणु क्षमतायुक्त लामो दुरीको मार हान्ने अग्नि फाइभ ब्यालेस्टिक क्षेप्यास्त्रको सफल परिक्षण गरेको छ ।
यो क्षेप्यास्त्रले पाँच हजार चारसय किलोमिटरभन्दा टाढा मार हान्न सक्ने बताइएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार यस क्षेप्यास्त्रले भारतबाट चीनको बेइजिङसम्म मार हान्न सक्छ ।
अघिल्लो बिहीबार मात्रै भारत र चीनका सैनिकबीच अरुणाचल प्रदेशको तवांगको सीमामा झडप भएको थियो । उक्त झडपमा दुवै तर्फका सैनिक घाइते भएका थिए । यद्यपी कसैको ज्यान गएको थिएन । सीमा मिचेर भारत छिरेका चिनियाँ सैनिकलाई आफूहरूले सफलतापूर्वक धपाएको भारतीय पक्षको दाबी छ ।
भारतले क्षेप्यास्त्रमा प्रयोग गरिएका नयाँ प्रविधि र यन्त्रको क्षमता पुष्टि गर्न यो परिक्षण गरेको हो । १० वर्षअघि पहिलो पटक परिक्षण गरिएको अग्नि फाइभ क्षेप्यास्त्रको यो नवौं परिक्षण हो । यो नियमित परिक्षण भएको त्यहाँको रक्षा मन्त्रालयले जनाएको छ । चिनियाँ सैनिकसँग झडपको घटनाको एक सातामै परिक्षण गरिए पनि यो पूर्वनिर्धारित योजना रहेको भारतीय पक्षको भनाइ छ ।
बङ्गाल खाडीको तटमा अवस्थित पूर्वी राज्य ओडिसाको अब्दुल कलाम टापुबाट उक्त क्षेप्यास्त्र परिक्षण गरिएको संसदीय मामिला मन्त्री प्रल्हाद जोशीले बताएका छन्। उनले यो क्षेप्यास्त्रले रक्षा क्षमता बढाउनुका साथै राष्ट्रिय सुरक्षालाई थप सशक्त बनाउएको भन्दै ट्विट गरेका छन् । परिक्षण गर्नुअघि भारतीय अधिकारीले बंगालको खाडी क्षेत्रमा उडान निषेध गरिएको सूचना जारी गरेका थिए ।













