काठमाडौँ। आगामी तीन दिन हल्कादेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
तीनदिने मौसम बुलेटिन सार्वजनिक गर्दै महाशाखाले आइतबारसम्म देशका अधिकांश स्थानमा हल्कादेखि भारी वर्षाको सम्भावना रहेको जनाएको हो । कोशी, मधेस र बागमती प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।
त्यसैगरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा तथा थोरै स्थानमा अति भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
उच्च जोखिममा रहेको जिल्लामा गण्डकी प्रदेशअन्तर्गत म्याग्दी, बागलुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासीपूर्व र मुस्ताङ रहेका छन् । लुम्बिनी प्रदेशमा कपिलवस्तु, रुपन्देही, पाल्पा, अर्घाखाँची, गुल्मी, प्यूठान, नवलपरासी पश्चिम, रोल्पा र रुकुमपूर्वलाई महाशाखाले उच्च जोखिममा राखेको छ ।
कर्णाली प्रदेशको जाजरकोट, दैलेख, रुकुमपश्चिम, कालीकोट, जुम्ला, हुम्ला र सुदूरपश्चिम प्रदेशमा डडेलधुरा, डोटी, अछाम, दार्चुला, बझाङ, बैतडी र बाजुरा उच्च जोखिममा रहेको महाशाखाले जनाएको छ ।
विगत केही दिनदेखि मनसुन न्यूनचापीय रेखाका कारण नेपालमा सक्रिय हुन थालेको छ । सो न्यूनचापीय रेखा थप केही दिन नेपालको दक्षिणी भूभाग आसपास रहने र मनसुन अझ सक्रिय हुने सम्भावना भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।
आजदेखि आइतबारसम्म भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलामा पानीको सतह बढ्न सक्ने महाशाखाले जानकारी गराएको छ ।
विगत केही दिन देखि मनसुन न्यून चापिय रेखाका कारण नेपालमा मनसुन सक्रिय हुन थालेकोले २०८१-०३-२० सम्म सतर्कताको लागि मिति २०८१-०३-१६ मा मनसुन विशेष मौसम बुलेटिन जारी गरिएको थियो। सो न्यून चापिय रेखा थप केही दिन नेपालको दक्षिण भूभाग/सिमाना आसपास नै रहने र मनसुन अझ सक्रिय हुने सम्भावना भएकोले मिति २०८१-०३-२३ गते आईतबारसम्म सतर्कताको लागि आज यस विशेष बुलेटिन जारी गरिएको छ।
मिति २०८१-०३-२१ गते शुक्रबार देखि मिति २०८१-०३-२३ गते आईतबारसम्म पनि देशभर साधारणतया देखि पूर्णतया बदली रही देशका अधिकांश स्थानहरूमा हल्का देखि मध्यम वर्षा हुनुको साथै कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा भारी देखि धेरै भारी वर्षा तथा थोरै स्थानहरूमा अति भारी वर्षाको सम्भावना रहेको छ ।
तसर्थ भोलि मिति २०८१-०३-२१ गते शुक्रबार देखि मिति २०८१-०३-२३ गते आईतबारसम्म भू-क्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको, शहरी तथा तराई क्षेत्रहरूमा डुवानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जन-जीवन, कृषि, स्वास्थ्य, पर्यटन,सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन तथा पूर्व तयारी गर्नुहुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध छ।
यस मनसुनी प्रणालीलाई मौसम पूर्वानुमान महाशाखाले निरन्तर अनुगमन गरिरहेको छ र सोही अनुसार नियमित रूपमा अद्यावधिक गर्दै जानेछ। तसर्थ दैनिक रुपमा सबैलाई अद्यावधिक मौसमी सूचनाको जानकारी लिन र यस महाशाखाबाट जारी हुने तीन दिने मौसम बुलेटिन नियमित हेर्नुहुन अनुरोध छ ।
दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायातसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन र पूर्वतयारी गर्न सर्वसाधारण तथा सबै सरोकारवाला निकायलाई महाशाखाले अपिल गरेको छ ।














