नेपाली काँग्रेसका नेता डाक्टर शेखर कोइरालाले पनि सरकारले ल्याउन लागेको अध्यादेशको विरोध गरेका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्ना धारणा सार्वजनिक गर्दै कोइरालाले अध्यादेशमार्फत कानुन संशोधन गरेर अदालतले दोषी ठहर्याएकालाई माफी दिने प्रयास गर्नु कानुनी शासन, संसदीय प्रणाली, राजनीतिक र लोकतान्त्रिक मर्मको उपहास गर्नु भएको बताएका हुन् ।
उनले आफू अनुकूलको राजनीतिक सहजताको लागि कानुनलाई बङ्ग्याउने छुट कसैलाई नभएको र यसले गलत नजिर बस्ने पनि बताएका छन् ।
‘अध्यादेश मार्फत कानुन संशोधन गरी अदालतले दोषी ठहर्याएकालाई माफी दिने प्रयास गरिने कानुनी शासन, संसदीय प्रणाली, राजनीतिक र लोकतान्त्रिक मर्मको उपहास गर्नु हो,’ कोइरालाले भनेका छन्, ‘आफू अनुकूलको राजनीतिक सहजताको लागि कानुनलाई बङ्ग्याउने छुट कसैलाई छैन । भोलि यसले गलत नजिर बस्न जान्छ ।’













