काठमाडौं । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अहिलेको आवश्यकतालाई केन्द्रमा राखेर अध्यादेश जारी गरिएको बताएका छन् । यस अध्यादेशले मुलुकको विकास तथा आन्तरिक एकतामा सबैलाई योगदान गर्न सहज वातावरण बनाउने उनको दावी छ ।
मन्त्रीपरिषद वैठकका विषयमा जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा उनले सो प्रष्टीकरण दिएका हुन् । पत्रकारहरुले उनलाई कांग्रेसकै नेताहरुले विरोध गरिरहेको अध्यादेश ल्याउनुको कारणबारे सोधेका थिए ।
मन्त्री कार्कीले जवाफ दिए, ‘मुलुकलाई आन्तरिक एकताका साथ सहज वातावरणमा सबैलाई काम गर्न दिने मनसायका साथ मुलुकको राजनीतिक प्रणालीसँग असहमत रही हिंसामत क्रियाकलापमा संलग्न राजनीतिक दल वा समूहलाई शान्तिपूर्ण राजनीतिको मुलधारमा ल्याउने उद्देश्यका साथ यो अध्यादेश ल्याएको हो ।’
उनले योभन्दा अघिका सरकारले पनि यस किसिमका अध्यादेश जारी गरेको र यस किसिमले माफी दिने सहमति गरेको बताए ।
काकीृले थपे, ‘अहिलेको आवश्यकतालाई केन्द्रमा राखेर मुलुकलाई योगदान गर्न चाहने सबैलाई सहज वातावरण सिर्जन गर्न अध्यादेश राष्ट्रपति समक्ष पेश गरिएको छ ।’













