धेरै किसिमका व्यञ्जनहरु एकैचोटि खाने परिपाटिलाई कुलघरानाको भोजन मानिन्छ तर वैज्ञानिकहरु यसलाई रजोगुणी खान्की भनी अस्वस्थकर मान्दछन् । वास्तवमा थरीथरीका परिकारहरु एकैचोटि खाँदा थोरैथोरै लिए पनि सामान्य स्थितिको दाँजोमा दोब्बर हुनु स्वाभाविक हो । स्मरण रहोस्, त्यसमध्ये जम्मा एक चौथाइ भए शरीरको पोषण पर्याप्त हुन्छ । बाँकी तीन चौथाइ मलविकार र विषको कारण बन्दछ । ड्युक विश्वविद्यालय मेडिकल सेन्टरका वरिष्ठ अध्येता सुजन सिफम्यानको शोधले एकै पटक अनेक व्यञ्जन र परिकारहरु खाने व्यक्ति पेटको असाध्य रोगको शिकार हुने तथ्य प्रमाणित गरेको छ । त्यस्तो व्यक्तिमा सन्तुलनमा ल्याउन गाह्रो हुने मोटोपनको समेत उच्च खतरा रहन्छ ।
विभिन्न वहाना झिकेर अतिभोजन र बहुपरिकार खानपानको शिकार हुनेहरुलाई ब्रिटिस अनुसन्धानकर्ताहरुले पनि गम्भीर चेतावनी दिएका छन् । ती अनुसन्धाताहरुको अध्ययनअनुसार आवश्यकताभन्दा बढी खाने र जे भेट्यो त्यही खाइहाल्ने बानीले मोटोपन बढाउँछ । यस्तो मोटोपनले एस्ट्रोजन हार्माेनलाई उत्तेजित गर्छ, जसले क्यान्सरलाई प्रेरित गर्दछ ।
त्यस्तै, खाना खाने बित्तिकै गरिने धूम्रपान तथा सुर्ती सेवनले हृदयघातको खतरालाई कैयौँ गुणा बढाइदिन्छ । कारण के हो भने, गरिष्ठ खाना र तत्काल सेवन गरिने धूम्रपातले रगतमा बोसोको मात्रा बढ्न गई त्यसले हार्माेनहरु, रगतलाई जमाउने रसायनहरु, असन्तुलित रक्तसर्करा तथा रगतलाई पेटतर्फ बढी प्रवाहित गरिदिन्छ र मुटुतर्फ रगतको प्रवाह घट्न जान्छ । परिणामस्वरुप हृदयघातको खतरा बढेर जान्छ ।
यसबाट स्पष्ट हुन्छ कि हाम्रो समाजमा प्रचलित भोजभतेरको चलन कति खतरनाक रहेछ । अक्सर भोजभतेर, पार्टी जमघटमा सुरुमा सक्दो मासुभात तथा अन्य गरिष्ठ परिकार खुवाइन्छ अनि अन्त्यमा चुरोटले स्वागत गरिन्छ । यदि तपाईं यस किसिमको भोजभतेर गराउँदै हुनुहुन्छ भने याद राख्नोस्, अतिथिहरुको मानसम्मान होइन, अप्रत्यक्ष रुपमा हत्या गरिरहनुभएको छ ।
साभारः ‘खाने कसरी पिउने कसरी’ पुस्तकबाट













