गर्मीमा पसिना बढी आउने हुँदा पानीको मात्र कम भई विभिन्न समस्याहरु आउने हुनसक्छ । पानी पर्याप्त खाइएन भने स्वास्थ्य खराब त हुन्छ नै, छाला पनि फुस्रो र फुंग उडेजस्तो हुन्छ । त्यही भएर शरीरमा पानीको मात्रा कम नहोस् भन्नका लागि झोल पदार्थ प्रशस्त खानुपर्छ ।
– गर्मीमा प्रशस्त मात्रामा पानी पिउने गर्नुपर्छ । जुस, दही, लसी, कागतीपानी, सर्बत, नरिवलको पानी, तरकारी तथा गेडागुडीको सुप, फलफूल आदि खाएर पनि शरीरमा पानीको आपूर्ति बढाउन सकिन्छ । चिसो पानी पिउनाले पाचन प्रणाली सुध्रिने र शरीर शीतल हुने गर्छ ।
– गर्मीमा चिया, कफी भन्दा पनि ग्रिन टी खाने बानी बसाल्नु बढी लाभदायक हुन्छ ।
– गाजर, काँक्रो, खरबुजा, मेवा, आँप, गोलभेँडा, पालकजस्ता कम क्यालोरी भएका मौसमी फलफूल खानु ज्यादै राम्रो हुन्छ । यस्ता मौसमी तरकारी र फलफूल खाने गर्नाले शरीरमा शीतल दिनुको साथै एसिडिटीको समस्याबाट पनि मुक्ति दिन्छ ।
– गर्मीको मौसम बिहानको खाजामा केरा खानु राम्रो हुन्छ । वजन पनि बढ्दैन र केरामा पाइने पोटासियम र आइरनले गर्मीमा मानिसलाई दिनभरि फुर्तिलो राख्न मद्दत गर्छन् ।
– गर्मी मौसममा बिहान–बेलुका केही समय फटाफट हिँड्ने गर्नाले शरीरमा अक्सिजनको मात्रा बढ्छ र मानिस सक्रिय भइरहन्छ ।













