काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गिरिबन्धु टी–स्टेटको जग्गा बिक्री नेपाली काँग्रेसको पालामा नभएको बताउँदै नीतिगत निर्णय आफु्ले गरेको भन्न एमाले अध्यक्ष ओली डराएको बताएका छन् । सभापति देउवाले आज काठमाडौँमा आयोजित प्रजातान्त्रिक विचार समाजको कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।
केही दिनअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरिबन्धु टी–स्टेटका बारेमा अदालतले गरेको फैसलाप्रति असन्तुष्टि जनाउँदै उक्त प्रकरणमा नेपाली काँग्रेसको समेत संलग्नता रहेको बताएका थिए । उक्त विषयमा बिहीबारको कार्यक्रममा सभापति देउवाले नीतिगत निर्णय ओलीको पालामा भएको र अध्यक्ष ओलीले नै नीतिगत निर्णय गरेर उक्त जग्गा बिक्री वितरण गरेको उल्लेख गरे । सभापति देउवाले उक्त जग्गा प्रकरणमा अध्यक्ष ओली निर्णयकर्ता अनि काँग्रेस दोषी भनेर सञ्चार माध्यममा हल्ला पिट्नु गलत भएको दाबी गरे
सभापति देउवाले पछिल्लो समय एमाले अध्यक्ष ओलीले नेपाली राजनीतिमा अवास्तविक कुरा बोलिरहेको भन्दै आपत्ति समेत जनाए । देउवाले पूर्व प्रधानमन्त्री एवम् एमाले अध्यक्ष जस्तो व्यक्तिले यस्तो लज्जास्पद अभिव्यक्ति दिन नमिल्ने भन्दै यर्थापरक कुरा बोल्न समेत निर्देशन दिए ।
एमाले अध्यक्ष ओली पछिल्लो समय सहकारी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेको बचाउमा उत्रिएका छन् । उनले अहिले संसद्को सबैभन्दा ठुलो दल नेपाली काँग्रेसले उक्त सहकारी प्रकरणमा निष्पक्ष छानबिनका लागि संसदीय छानबिन समिति गठन गर्न माग गरिरहेका बेला उक्त समिति बनाउन नहुने भन्दै नेपाली काङ्ग्रेसमाथि गाली ग्लोबमा उत्रिएका छन् । काँग्रेसले सहकारी प्रकरणमा निष्पक्ष छानबिन गरेर सहकारी पीडितहरूलाई न्याय दिन सरकार तयार हुनुपर्ने बताउँदै आएको छ ।













