दिनेश निरौला
म गरिबको छाप्रामा जे मिलेको खाएर रात कटाउनुभयो । म धन्य भएँ मालिक— हिरालालले कृतज्ञता जाहेर गर्दै भन्यो ।
बेलुकाको घरचुवाले छोडेको थिएन । दिलिपजंग थोरै मुस्कुरायो मात्रै ।
मालिकहरुको कृपाले त हामी बाँचेका छौं— हिरालालनी बोलिन् ।
आफ्नो मुण्टो हल्लायो दिलिपले ।
के गर्नु मालिक ! एक चपरी माटो आफ्नो छैन— हिरालालनीले निरासा जनाई ।
दिलिप अझै मौननै रह्यो ।
तर भकारी खाली छ र ?— हिरालाल जोसियो ।
तारा सुतेकै ठाउँबाट गन्नमिल्ने छाप्रोलाई घर भन्नू परेको छ— हिरालालनी रोकिन चाहिन ।
बुढाबुढीको वाकयुद्धले आफ्नो उपहास गरेको हो वा प्रसंसा ? दिलिपजंग दोधारमा प¥यो । हिरालालको अभाव र आफ्नो वैभवको तुलना ग¥यो । लामो सुस्केरा हाल्यो र बोल्यो— मेरो महलबाट वर्षौंदेखि हराएको निद्रा आज तपाईंको यो भूईंघरमा भेटेँ हिरालाल दाजु ।
साभारः लघुकथा कुनोबाट













