काठमाडौं । नमुना गाउँपालिका बनाउने अभियानका साथ अघि बढिरहेको सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका पछिल्लो समय चौँरी गाई र याकको सङ्ख्या निरन्तर घट्दै गएको भन्दै चौँरी र याकको संरक्षणमा समेत जुटेको छ । सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पा हेलम्बु गाउँपालिकालाई विकासमा अन्य गाउँपालिकाको तुलनामा छुट्टै पहिचान दिने गाउँपालिका बनाउने अभियान साथ लागि परिरहेका छन् ।
उनले पछिल्लो समय पर्यटकीय क्षेत्रको रूपमा रहेको हेलम्बु गाउँपालिकामा चौँरी र याकको सङ्ख्यामा गिरावट आउन थालेको भन्दै चौँरी र याक संरक्षणमा लागि परेको जानकारी दिए । चौँरी र याकको संरक्षणका लागि विभिन्न कार्यक्रम ल्याउने गाउँपालिका अध्यक्ष शेर्पाको भनाइ छ ।
हेलम्बुको माथिल्लो क्षेत्र मेलम्ची घ्याङ लगायतका स्थानमा चौँरी, याक हेर्न पाइने तर अहिले सङ्ख्यामा गिरावट आएपछि चौँरी र याक प्रयाप्त रूपमा देख्न नसकिएको भन्दै संरक्षणमा आफू लागि परेको अध्यक्ष शेर्पाले बताए । अध्यक्ष शेर्पाका अनुसार गापाले ब्रिमु (याक) ल्याई माथिल्लो क्षेत्रमा प्रत्येक वर्ष छाड्ने कार्य गर्न लागिएको हो ।
याकको सङ्ख्या बढाएर र चौँरीको संरक्षण गरेमा पर्यटकीय नगरी हेलम्बुमा अझै आन्तरिक र बाह्य पर्यटकको केन्द्र्रबिन्दु बनाउन सकिने उनको भनाइ छ । हेलम्बु ह्योल्मो समुदायको बसोबास क्षेत्र भएकाले गुम्बा नै गुम्बाको गाउँका रूपमा हेलम्बुलाई चित्रण गरिएको छ ।













