सफलता एक किसिमको अनुभूति हो । सफलताको मापन मान्छेविशेषमा फरक हुनेगर्छ । सफल मान्छेहरु अरुसँग होइन, आफैसँग प्रतिस्पर्धा गर्छन् । उनीहरु आफ्नै रेकर्डलाई अझ जित्दै निरन्तर सुधार गर्न लागिपरिरहन्छन् । कुनै पनि व्यक्तिलाई पूर्ण शक्ति लगाएर गरेको कामबाट भेट्ने लक्ष्यले उसलाई एउटा मीठो अनुभूति दिन्छ । त्यही अनुभूतिबाट मिल्ने एक प्रकारको सन्तुष्टिबाट नै उसको सफलताको मापन गरिन्छ ।
ओहदा र पदबाट भन्दा पनि त्यहाँसम्म पुग्नलाई के कति बाधा–व्यवधानहरु पार गरिन्छ त्यसबाट उसको सफलता नापिन्छ । त्यस्तै अरुका तुलना गरेर पनि सफलताको मापन हुँदैन । हामीले आफ्नो क्षमताको तुलनामा त्यो कति गर्नसक्यौँ ? त्यसबाट नापिन्छ ।
जीवनमा प्राप्त गरेको उचाइबाट भन्दा पनि उचाइ प्राप्त गर्न गरेका प्रयासका क्रममा कतिपटक लड्दै फेरिफेरि उठ्यौँ, लडेर उठ्ने अझ बढी क्षमतावान् बन्ने प्रयासबाटै सफलताको निर्धारण हुन्छ ।













