१. आत्मवान मुनि यस्तो भाषा बोलून जसले देखेको कुरा बोलून्, सङ्क्षिप्त हुन्, सन्देहरहित हुन्, स्वर–व्यञ्जनले पूर्ण हुन्, व्यक्त हुन्, भनेर पनि नभने जस्तै सहज र उद्वेगरहित हुन् ।
२. मुनिजन न त बल वा आयु बढाउन खान्छन्, न स्वादका लागि, न शरीरको तेजका लागि भोजन गर्दछन् । ती त ज्ञान, संयम र ध्यान सिद्धिका लागि नै आहार गर्दछन् ।
३. जसरी भ्रमरले फूललाई पीडा नदिइकन रस चुस्छ र तृप्त हुन्छ, त्यसरी नै लोकमा विचरण गर्ने बाह्याभ्यंतर परिग्रह रहित भ्रमण गरेर दातालाई कुनै प्रकारको कष्ट नदिइकन उनले दिएको आहार ग्रहण गर्दछन् ।
४. पैशुन्य दुष्टाइँ, हास्य, कर्कश वचन, परनिन्दा, आत्मा प्रशंसाको त्याग गरेर स्व र पर हितकारी वचन बोल्नु नै भाषा समिति हो ।
५. साधुले कसैले सोधे पनि आफ्ना लागि, अरुका लागि वा दुवैका लागि न त पाप वचन बोलून् न निरर्थक वचन बोलून्, न मर्मभेदी वचनको प्रयोग गरुन् ।
६. यसै गरी कानालाई कानो, नपुंसकलाई नपुंसक, व्याधिग्रस्तलाई रोगी र चोरलाई चोर पनि नभनून् ।
साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट













