प्रा.डा. प्राज्ञ खेमराज खनाल
उनी भारतको दादागिरी मन पराउँदैनथे । भन्थे, “नेपाललाई स्वतन्त्र, सार्वभौम र स्वावलम्बी मुलुक बनाउनु पर्दछ ।” सबै सम्झन्थे, “उनी नेपाली मन भएका राजनेता हुन् ।” चुनावमा यही नारा अघि सारे । जनताको मन जिते । प्रधानमन्त्री भए ।
प्रधानमन्त्री राष्ट्रिय देवता पशुपतिनाथको दर्शन गर्न गए । भारतीय पुजारी अघि स¥यो । नयाँ प्रधानमन्त्रीका टाउकामा हात राख्यो । ढोका थुनेर खुट्टा ढोगायो । भारतीय मन्त्र बर्बरायो । प्रधानमन्त्रीको दिमाग चक्करायो । उनका कानमा दिल्लीको सुमधुर धुन गुन्ज्यो । उनी भित्रभित्रै बर्बराए, “जय भारत माता !” मन्दिरभित्र पशुपतिनाथ रोइरहेका थिए । उनी पुकारा गर्दै थिए, “ए जनता जनार्दन हो ! मलाई छिट्टै मुक्त गर नत्र तिमीहरू कहिले भारतबाट स्वतन्त्र हुने छैनौ ।“ बिचरा ! पशुपतिनाथको आवाज जनतासम्म पुगेकै थिएन । जनताले चढाएको फूलअक्षता शिवलिङ्गमा पुग्दैनथे । पुजारीले ढोकामै घोप्ट्याइदिन्थ्यो । जनता पशुपतिमा भर गर्थे । पशुपति जनतामा भर पर्थे । यी दुई बीचको तगारो भारतीय पुजारी थियोे । तगाराका दुबै खम्बामा धमिरा लागेका थिए । तगारो बिस्तारै मक्किँदै थियोे । नेपाली जनताको सामूहिक ……… बाँकी थियोे ।
साभारः लघुकथा कुनोबाट













