काठमाडौँ – मानबबेचविखनको आरोप लागेका एक व्यक्ति ३२ वर्षपछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा धादिङका ५७ वर्षीय वीरबहादुर तामाङ रहेका प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले जनाएको छ।
ब्यूरोका प्रहरी उपरीक्षक कृष्णप्रसाद पंगेनीले आरोपी तामाङले पीडितको श्रीमान बैदेशिक रोजगारीका क्रममा ब्रुनाईमा रहेका वेला महिलालाई २०४७ साल चैतमा झुक्यानमा पारी भारतमा लगेर बेचेका जानकारी दिए।
पीडितलाई तिम्रा श्रीमानले ब्रुनाई ल्याइदिनु भनी चिठी पठाएको बताएर महिलालाई भारतमा लगी बेचेको पाइएको प्रहरी उपरीक्षक पंगेनीले बताए।
उनले महिलालाई काठमाडौँबाट काँकडभिट्टा हुँदै पश्चिमबंगाल पुर्याई भारतीय नागरिकलाई बेचेका थिए। तामाङले १० हजार भारतीय रुपैयाँमा पीडितलाई बेचेका खुलेको छ।
भारतीय नागरिकले रिक्सामा राखी लैजाने क्रममा पीडित महिला रिक्साबाट हामफाली भागेर भारतीय प्रहरीको सम्पर्कमा पुगेकी थिइन्। त्यसपछि भारतीय प्रहरीले काँकडभिट्टा ल्याएर छाडिदिएपछि काठमाडौँ आएर उनले ब्यूरोमा जाहेरी दिएकी थिइन्।
घटनामा संलग्न अन्य अभियुक्तको खोजी जारी रहेको प्रहरी उपरीक्षक पंगेनीले बताए।













