यो छोड्ने त्यो समात्ने, त्यो छोड्ने यो समात्ने कुरा निरन्तर भइरहन्छ । आनन्दका साथ विचार प्रवाह हेर । जो कर्म हुँदै छ । शरीरद्वारा इन्द्रियद्वारा, सङ्कल्प विकल्पद्वारा, विचारद्वारा, त्यो कर्मको हेतु के हो ? त्यो कर्म गर्ने शक्ति कहाँबाट आउँछ ? स्मृति एवं कल्पनाका सबै कुरा मिथ्या हुन्, परन्तु साधारण मनुष्य स्मृतिका बालकहरूमा अल्झेर जीवन समाप्त गर्दछन् । एकक्षणका संस्कार अथवा जन्मजन्मका संस्कार, ज्ुान भए पनि सजगता छैन भने द्वन्द्व खडा गरिहाल्छन् । अनुकूल भए जनसक्ति, प्रतिकूल भए विरक्ति यो द्वन्द्वले प्रकाश दिँदैन ।
धनको लोभ, इन्द्रियको आकर्षण, आदतको पुनरावर्तन सोचेर समाप्त हुने कुरा होइनन् । धनको दान, इन्द्रियद्वारा परोपकारको कार्य, सुन्दर सुखद आदतको निर्माण नगरी हठात् त्याग सम्भव छैन । हठात् त्यागको कुरा गर्नु शिर पेट अरू अङ्गहरू दुःख्दा औषधी, पथ्य विश्राम नगरी सुस्वास्थको कल्पना मात्रै गरेर वेदना सहेजस्तै हो ।
इच्छाका पछाडि लागेर जानु प्रवृत्ति हो । इच्छाको जन्मका समय नै उपेक्षा गर्नु निवृत्ति हो । पूर्वजन्ममा या एकक्षणपूर्वमा भएका कर्महरू इच्छाहरूको फल–प्रभाव, जान्नु सहनु धैर्य हो । इच्छा, लोभ, आशा, व्यक्ति, सम्मान सम्पत्ति यी छ वस्तु अज्ञानका उत्पादन हुन् । संस्कार प्रभाव अनुसार हुन्छन् । विस्मृत र मृत्युद्वारा नै स्वतन्त्रता सम्भव छ ।
साभारः ‘विचारप्रवाह’ पुस्तकबाट













