अबैध रुपमा रुस पुगेर रुसी सेनामा भर्ति भएका थप तीन जना नेपाली नागरिकको मृत्यु भएको छ । रुस–युक्रेन युद्धमा थप तीन जना नेपालीको मृत्यु भएको परराष्ट्र मन्त्रालयले पुष्टि गरेको हो ।
मन्त्रालयका अनुसार स्याङ्जाका हरिप्रसाद अर्याल, कैलालीका भरतबहादुर शाह र धादिङका राजकुमार गिरीको मृत्यु भएको हो । यसअघि रुसी सेनामा कार्यरत कुन्दनसिंह नागल, गोरखाका सन्दीप थपलिया, कपिलवस्तुका रूपक कार्की, कास्कीका देवान राई, स्याङ्जाका पितम कार्की, दोलखाका राजकुमार रोका र इलामका गंगाराज मोक्तानको मृत्यु भएको जानकारी आइसकेको छ ।
यता परराष्ट्रमन्त्री एनपी साउदले रुसी सेनामा कार्यरत सयजना नेपालीका परिवारले विवरणसहित खोजबिन र स्वदेश फिर्ताको प्रयासका लागि मन्त्रालयमा निवेदन दिएको सार्वजनिक गरिसकेका छन् । ती निवेदनका सम्बन्धमा परराष्ट्रले रुससँग जानकारी मागे पनि आइसकेको छैन । यसबाहेक चार नेपाली युक्रेनस्थित सैनिक नियन्त्रणमा रहेको सरकारले सार्वजनिक गरिसकेको छ । राजापुर– १ बर्दियाका विवेक खत्री, मण्डनदेउपुर– ६ काभ्रेका सिद्धार्थ ढकाल, लेटाङ– २ मोरङका विकास राई र रुन्टीगढी– ८ रोल्पाका प्रतीक पुन युक्रेनी सेनाको नियन्त्रणमा छन् । तर, युक्रेनले विवेक खत्री मात्रै युद्धबन्दीका रूपमा रहेको जानकारी दिएको छ ।
रुसी सेनामा भर्ना हुन किन आकर्षित भए नेपाली ?
रुसी सेनामा भाडाका सैनिक बढ्नुमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले विदेशीका लागि ल्याएको आकर्षक योजनाले हो । सन २०२२ सेप्टेम्बर अन्तिम साता रुसी सदन ‘स्टेट डुमा’ले एक विधेयक पारित ग¥यो । त्यस विधेयकले एक वर्ष रुसी सेना, रुसी फौज वा अन्य सैन्य सेवामा आबद्धलाई सैनिक क्षेत्रमा सहभागी भएको एक वर्षमै रुसी नागरिकता दिने सहज प्रावधान ल्यायो । रुसी राष्ट्रपति भ्यादिमिर पुटिनले १६ मे २०२३ मा त्यो विधेयक प्रमाणीकरण गरेका थिए ।
विधेयकको प्रमाणीकरणसँगै रुसी फौजमा एक वर्ष काम गरेका जुनसुकै मुलुकका युवासँगै उनीहरूका श्रीमान्श्रीमती वा परिवारका सदस्यले सहज रूपमा रुसी नागरिकता लिन पाउनेछन् । रुसी फौजमा सहज प्रवेश र नागरिकता पाउने आकर्षक प्रावधानले गर्दा धेरै नेपाली रुसी सेनामा आकर्षित भएका हुन् ।
त्यसो त द्वन्द्वग्रस्त मुलुक रुस र युक्रेनमा नजान सरकारले पटकपटक आग्रह गर्दै आइरहेको भएपनि नेपालीहरू पर्यटक भिसामा दुबई र छिमेकी मुलुक भारत भएर रुसी सेनामा भर्ना हुन जाने क्रम रोकिएको छैन ।ग













