ईपीएस भाषा परीक्षामा सहभागी गराउनुपर्ने माग सहित आन्दोलनमा उत्रिएका युवाहरुमाथी प्रहरीले बल प्रयोग गर्दा दुई जनाको मृत्यु भएको घटनाको व्यापक आलोचना भईरहेको छ । प्रहरीले अन्धाधुन्धा बल प्रयोग गरेको भन्दै विज्ञहरुले आलोचना गरिरहेका छन् ।
यता प्रहरीले भने युवाले मन्त्रीको गाडी जलाईदिएपछि स्थिती नियन्त्रणमा लिन भन्दै गोली चलाएको बताएको छ । यसरी प्रहरीले स्थिती नियन्त्रणमा लिनकै लागी चलाएको गोली र लाठी प्रहारबाट दैलेखका २३ वर्षीय सुजन रावत र अछामका २३ वर्षीय वीरेन्द्र शाहको ज्यान गएको हो । स्थिति नियन्त्रणमा लिने नाममा प्रहरीले वैकल्पिक उपाय अपनाउन छोडेर हवाई फायर, गोली प्रहार लगायत अन्धाधुन्ध बल प्रयोग गर्नु त्यति उचित नदेखिएको पूर्व प्रहरी नायव महानिरीक्षक केशव अधिकारीको तर्क छ ।
आन्दोलनका क्रममा तनावग्रस्त बनेको ग्वार्को क्षेत्रमा प्रहरीले लाठी चार्ज, अश्रुग्यास र गोली समेत चलाएको थियो । तर, त्यहाँको अवस्था हेर्दा गोली नै चलाउनुपर्ने नदेखिएको विज्ञहरुको तर्क छ । पानीजहाज निर्माण गर्ने कामका लागि लिइएको भाषा परीक्षामा सामेल परीक्षार्थीले ‘उत्पादनमूलक’ अर्को रोजगारीका लागि जान भाषा परीक्षामा भाग लिन माग गरेका थिए । तर ईपीएसको मापदण्डअनुसार तत्काल अर्को परीक्षामा भाग लिन नमिल्ने भनिएपछि युवाहरू आक्रोशित भएका थिए ।
उच्च अदालत, पाटनले आवेदन लिनू भन्ने आदेश दिएका कारण अरु युवा पनि त्यहाँ पुगेका थिए । तर कार्यालयले रिट लिएर अदालत गएका १८ जनाको मात्र आवेदन लिने निर्णय गरेको थियो । बिहीबार पनि २÷३ सय युवा आवेदन दिन पाउनुपर्ने माग गर्दै पुगेकाले शुक्रबार बिहानदेखि सुरक्षाकर्मी तैनाथ दिए । सुरक्षाकर्मीले परीक्षा फर्म भर्न पाउनुपर्ने माग गर्दै पुगेका युवाहरुलाई कार्यालयमा प्रवेश नै दिएन । भीड बढ्दै गएपछि उनीहरु संगठित रुपमै आन्दोलित भए । कार्यालय पुग्न बल गर्न खोजेका युवालाई प्रहरीले लखेटेपछि तनाव बढेको प्रदर्शनकारीले बताएका छन् । यता विज्ञहरुले भने प्रहरीले संयमता अपनाएको भए यस्तो अवस्था नबन्ने बताएका छ ।
झडप भएको केही समयपछि उच्च अदालत पाटनले सबैलाई ईपीएस भाषा परीक्षामा सहभागी गराउन आदेश दिईसकेको छ । तर, परीक्षार्थीहरु भने शुक्रवारको घटनाले आक्रोशित बनेका छन् । यता गृहमन्त्रालयले दुई जनाको ज्यान जाने गरी भएको घटनाको सत्यतथ्य छानबिन गर्न उपत्यका प्रहरीका डीआईजी लालमणि आचार्यको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।
ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक बासु सिग्देल सम्मिलित छानबिन समिति गठन भएको हो । समितिलाई सात दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ ।













