प्रतीक–प्रतीकको भेद, भाषा भाषालाई दिएको व्युत्पत्ति र रहस्य पर्दाहरू हटाइदिने हो भने पूर्वका सबै दर्शनमा मतभेद केवल सृष्टिकर्ता र अकर्तामा मात्रै छ ।
सारतत्व, ग्राह्यतत्व, हृदयतत्व एउटै हो । भेद, ईष्र्या, पक्षपात बुद्धि र सुरक्षाका स्तरमा छ । जहाँ बुद्धिको समता प्राप्त भयो त्यहाँ संसारलाई स्थान छैन । शब्दमा होइन, शब्दले के भन्न बताउन खोजेको हो त्यहाँ ध्यान दिनुपर्छ ।
इष्ट र भाग्यको कामना रहेसम्म आवागमनबाट स्वतन्त्रता प्राप्त गर्ने सम्भावना छैन । लोक–परलोकको कामनाबाट मुक्त जीव मात्र एकान्तमा शान्त रहेर आपूmलाई जान्ने, चिन्ने अभ्यासमा स्थिर बस्न सक्छ । यस आत्मचिन्तन, अभ्यासद्वारा (अध्यात्मयोग)ले जीवनमा निर्मम, निरहङ्कार, निस्पृह, निद्र्वन्द्वता, नियोगक्षेमको स्थिति आउँछ । यो स्थिति नै वस्तुतः जीवन्मुक्ति हो अथवा मनुष्यता प्राप्तिको सम्यक् उपयोग वा उपभोग हो । योभन्दा तल जेजसो पनि गरिन्छ, ती सबै विचार (अर्थात् सङ्कल्प–विकल्प), अहङ्कार (पाउने, बनाउने, भोग्ने बाँच्ने वासना) रहिरहन्छ । आफ्नो हृदयमा प्रवेश, आफ्नो खोज परिचय–स्वतन्त्रतामा मात्रै सफल र सरल हुन्छ ।
सबैतर्फबाट दिगम्बर भएर जीवनयापन गर । प्राण र स्मृतिको साथ कहिल्यै नछुट्ने प्रक्रिया अपनाउनु ध्यान हो । अहङ्कारको सोच्ने, कार्य गर्ने, कल्पना गर्ने, सम्झना गर्ने पद्धति कस्तो छ ? लोभ, मोह, कसरी बन्दछन्, आउँछन्, रहन्छन् ? आकाङ्क्षा, आसक्ति तथा भयको स्वभाव यिनीहरूको जन्म जान्नु, हेर्नु नै साक्षी हुनु हो । यो खालिपनामा सहज स्थिति, दिगम्बर अवस्था हो । देहका मनका अभिमानका सबै आवरण हटाउने, तीव्रता यहाँ दिगम्बरतत्व हो ।
साभारः ‘विचारप्रवाह’ पुस्तकबाट













