सरकारमा जिम्मेवारी लिनेबित्तिकै नेताहरु मन्त्रालयमा आफ्नो आदेशबाट काम भएको हो भनी देखाउन पछि पर्दैनन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय नेतृत्वको जिम्मेवारी पाएका मन्त्री प्रकाश ज्वालाले पनि त्यसै गरे ।
उनले काठमाडौँ सडकलाई खाल्डाखुल्डी रहित बनाउने अभियान सुरु गर्न निर्देशन दिनुका साथै सरोकारवालासँग सहकार्य गरी हरेक समस्याको हल गर्न पनि सुझाव दिए । तर, खडकमा खाल्डाखुल्डी भने अझै उस्तै छन् ।
चैत १७ गते पदभार ग्रहण गरेका मन्त्री प्रकाश ज्वालाले १ महिनामा खाल्डाखुल्डी रहित सडक बनाउने भन्दै भाषण गरेको ४ महिना बित्यो । तर, काठमाडौँका सडकमा खाल्डाखुल्डी उस्तै छन् । काठमाडौँ उपत्यकामा बढी चाप हुने चक्रपथ, बानेश्वर, चाबहिल, बौद्ध लगायतका खडकखण्डमा देखिएका खाल्डाखुल्डी हेर्दा सम्बन्धित निकायले मन्त्रीको निर्देशनलाई बेवास्ता गरेको देखिन्छ ।
त्यसो त मुख्य सडक खण्ड मात्र नभई भित्री तथा कोरिडोरका खडक खण्डहरुको अवस्था पनि उस्तै छ । तर, यसतर्फ मन्त्रालय तथा सरोकारवाला निकायहरुको कुनै ध्यान जान नसकेको यी सडकका खाल्डोहरुले दर्शाएको छ ।
सडक डिभिजन कार्यालय काठमाडौँले विद्युत् प्राधिकरणको भूमिगत तार व्यवस्थापन भईरहेका ३ वटा सडक खण्ड बाहेक अधिकार क्षेत्र भित्र रहेका खडक खण्डहरुको खाल्डो पुर्ने काम भएको दाबी गरेको छ । सडकका खाल्डाखुल्डी पुर्ने अभियान स्वरुप सुरु गरेको कार्यालयले १४ हजार स्क्वायर्स मर्मत गरिसकेको छ । यसबाहेक साङ्ग्रिला होटल–रानीबारी सडकखण्ड, लैनचौर–महाराजगंज सडकखण्ड, लैनचौर–बालाजु खडकखण्ड, त्रिपुरेश्वर–कलंकी सडकखण्ड र केही भित्री सडक बाहेकका सडकखण्ड खाल्डो रहित भएको कार्यालयले जनाएको छ ।
सस्तो लोकप्रियताका लागि पदभार गरेसंगै खाल्डाखुल्डी रहित काठमाडौँ भन्ने अभियान सुरु गरेका मन्त्री ज्वालाको अभियान तिव्र गतिमा चल्न सके साच्चैँ नै काठमाडौँका सडक खाल्डाखुल्डी रहित हुने थियो । तर, मेलम्ची खानेपानी, विद्युत् प्राधिकरण र सडक विभाग बिच राम्रो समन्वयन हुन नसक्दा सडकमा समस्या हुने गरेको छ । यसतर्फ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, मन्त्रालय मातहतका निकाय तथा सरोकारवाला निकायहरुको ध्यान जान आवश्यक छ ।
तस्बिरः न्युज एजेन्सी नेपाल













